Techie IT
Samayabaddha
शनिबार, २७ पुस, २०८१

इजरायली आक्रमणमा हमासका प्रमुख मारिएको पुष्टि


इजरायलले हमासका मुख्य नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेको छ । इजरायली सुरक्षा बल आइडीएफले गएराति विज्ञप्ति निकालेर अस्ति बुधवार दक्षिणी गाजामा गरेको आक्रमणमा सिनवार मारिएको जनाएको हो । यसबारे हमासको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ ।

त्यसअघि इजरायली विदेशमन्त्री इजरेल काट्जले सिनवारको मृत्यु भएको भन्दै विभिन्न देशका आफ्ना समकक्षीलाई व्यक्तिगत सन्देश पठाएको बीबीसीले जनाएको छ । सन्देशमा उहाँले गएको वर्ष अक्टोवर ७ मा भएको आक्रमणको मुख्य योजनाकर्ता हमास नेतालाई इजरायली सैनिकले मारेको उल्लेख गरेका छन् ।

यसअघि आइडीएफले सिनवारको मृत्यु भएको हुनसक्ने भन्दै डीएनए परीक्षण भइरहेको जनाएको थियो । लगत्तै विदेशमन्त्रीले मृत्यु भएको पुष्टि गरेको खबरमा उल्लेख छ । यसअघि इरानमा भएको एक आक्रमणमा हमासका राजनीतिक कमाण्डर इस्माइल हनियाको मृत्यु भएको थियो । हनियाको मृत्यु भएपछि सिनवार नै हमासको मुख्य नेता थिए ।

यसैबीच गाजामा हमाससँगको युद्धमा सिनवारको मारिनु इजरायलको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । सिनवारको मृत्यु हुनु हमासको लागि गम्भीर धक्का भएको बताउदै प्रधानमन्त्री नेतान्याहुले इजरायलको विजय प्राप्त गरेको तर युद्धको अन्त्य नभएको प्रतिक्रिया दिएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट