उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसो बढ्यो
काठमाडौं । मधेश, बाग्मती र कर्णाली प्रदेशका एकरदुई ठाउँमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको आंशिक प्रभाव छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै ठाउँ तथा कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी एकरदुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँमा तापक्रम घट्न थालेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज १४ डिग्री सेल्सियस मापन भएको छ । अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियसका बीच रहने अनुमान छ ।
चिसो बढेकाले मौसमी रुघाखोकी, ज्वरोलगायतका बिरामीसमेत बढेका छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरको सल्लाह छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया