Techie IT
Samayabaddha
बिहीबार, १० माघ, २०८१

रबिको पक्राउपछि रास्वपाले दुई उपसभापतिलाई ग¥यो जिम्मेवारी बाँडफाँड


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेको पक्राउपछि रास्वपाको केन्द्रीय समितिले दुई उपसभापतिलाई बेग्लाबेग्लै जिम्मेवारी दिएर तोकेको छ ।

शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उपसभापतिद्वय स्वर्णिम वाग्ले र डोलप्रसाद अर्याल (डिपी) लाई कामको फरक फरक जिम्मेवारी तोकेको हो ।

कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार रबि लामिछाने पक्राउ विरुद्धमा आन्दोलन सञ्चालन गर्न उपसभापति अर्यालको नेतृत्वमा सात प्रदेश सभापतिहरू रहने आन्दोलन सञ्चालन मूल समिति गठन गरिएको छ ।
वक्तव्यमा सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको ठहर गर्दै रास्वपाले आन्दोलनलाई निरन्तरता दिने पनि बताएको जनाएको छ ।

यस्तै अर्का वरिष्ठ उपसभापति वाग्लेलाई राजनीतिक नागरिक संवादको जिम्मेवारी दिइएको छ । आवश्यक उपसमितिहरू गठनको अख्तियारी पनि वाग्ले संयोजकत्वको समितिलाई केन्द्रीय समितिले अधिकार दिएको छ ।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले गत कात्तिक २ गते पक्राउ गरेर पोखरा लगेको थियो । सभापति लामिछानेले कार्यवाहक सभापतिको जिम्मा कसैलाई पनि तोकेका छैनन् ।

सभापति लामिछाने पक्राउपछि रास्वपाले पोखराकेन्द्रित आन्दोलन गरेको थियो । पोखरा केन्द्रित आन्दोलन फितलो देखिएपछि रास्वपाले आन्दोलन काठमाडौं केन्द्रित गर्ने प्रयास गर्दै आएको छ ।

सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा बिहीबार जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको छ ।  न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट