स्मार्ट लाइसेन्स खारेज गरि क्युआर कोडसहितको लाइसेन्स जारी गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले नौ वर्ष अगाडि शुरु गरेको सवारी चालकहरुको लागि स्मार्ट लाइसेन्स छपाई र वितरणको कामलाई सहजरुपमा गर्न नसकेपछि अबको केही समयभित्रै फेरि नयाँ खालको लाइसेन्स वितरण गर्ने भएको छ । नयाँ लाईसेन्स वितरण प्रकृया शुरु भएसंगै स्मार्ट लाइसेन्स वितरणको काम रोकिने छ ।
सरकारले विश्व वैंकको तीन अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान सहयोगमा २०७२ मङ्सिरदेखि स्मार्ट लाइसन्स वितरण सुरु गरेको थियो । अहिलेसम्म करिब ४० लाख मानिसहरूले स्मार्ट लाइसेन्स पाए पनि करिब २२ लाख मानिसहरूले चालक अनुमति परीक्षा उत्तीर्ण गरेर पनि लाइसन्स पाएका छैनन् ।
जारी गर्न लागिएको नयाँ लाइसेन्समा स्मार्ट लाइसेन्समा जस्तो चिप्स नहुने त्यसको सट्टा क्यूआर सहितको हुने भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार केही दिन भित्रै यसबारेमा मन्त्री परिषद्को वैठकमा औपचारिकरुपमा प्रस्ताव लैजाने तयारी भैरहेको छ ।
त्यसको लागि यातायात नियमालीमा संशोधन गर्न लागिएको छ । यातायात व्यवस्था विभागले नियमावलीमा सवारीचालक अनुमतिपत्रको परिभाषामा चिप्सजडित लाइसन्स वा क्यूआर कोड सहितको लाइसेन्स उल्लेख गर्नु पर्ने प्रस्ताव गरेको छ र त्यो प्रस्ताव मन्त्रालयले पनि उचित ठहर्याएकोले मन्त्रीपरिषद्बाट निर्णय गर्न लागिएको बताइएको छ ।
नयाँ नियमावली लागु भए तापनि यसअघि स्मार्ट लाइसन्स पाउन बाँकी २२ लाख मानिसहरूलाई भने अहिलेकै चिप्स सहितको लाइसन्स नै वितरण गरिने भएको छ । नयाँ लाइसेन्स लिने प्रकृया अगाडि बढाएकाहरुले भने केही समयमै नयाँ लाइसेन्स पाउनेछन् । नयाँ लाइसेन्स छपाईसंगै लाइसेन्स वितरणको जिम्मेवारी प्रदेश सरकारहरुलाई दिइने भएको छ । क्युआर कोडसहितको लाइसेन्स भएपछि लाइसेन्स वाहकको अवस्था जानकारी लिन सजिलो हुने र त्यसबाट दूर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने सरकारी अधिकारीहरुको दावी छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया