Techie IT
Samayabaddha
आईतबार, १४ पुस, २०८१

बङ्गलादेशमा राष्ट्रपतिलाई अपदस्थ गर्न आन्दोलनकारी समूहको दबाव


अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई हटाउन आन्दोलन गरेको समूहले बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनलाई राजीनामा दिन दबाव दिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘छुप्पु’ भनेर चिनिने ७४ वर्षीय शहाबुद्दीन सन् २०२३ मा अपदस्थ पूर्वप्रधानमन्त्री हसिनाको अवामी लिगको बहुमत रहेको संसद्बाट निर्वाचित भएका थिए । यो पद संवैधानिक भए पनि उहाँको पदबाट हट्ने सम्भावनाले संवैधानिक शून्यताको डर पैदा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

राष्ट्रपतिलाई हटाउनेबारे कुनै पनि निर्णय राजनीतिक सहमतिका आधारमा हुने अन्तरिम सरकारका प्रेस सल्लाहकार शफिकुल आलमले बताएका छन् । अन्तरिम सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले ‘मुख्य सल्लाहकार’ का रूपमा गरिरहेका छन् । सरकारका प्रवक्ता सैयदा रिजवाना हसनले शहाबुद्दीनलाई हटाउने विषयमा छलफल भइरहेको बताएका खबरमा उल्लेख छ । उनले क्रान्तिपछि बनेको सरकारले फासीवादी सरकारले छानेको राष्ट्रपतिलाई कायम राख्ने कि नराख्ने भन्ने विषयमा विचार गर्नुपर्ने बताए।

यसै महिनाको शुरूमा शहाबुद्दीनले हसिनाको राजीनामा पत्र आफूले कहिल्यै नदेखेको बताएपछि चर्को विरोध भएको थियो । गएको हप्ता राष्ट्रपति भवन परिसरमा आक्रमण गर्न खोज्ने सयौंको भीडसँग प्रहरीबीच झडप हुँदा ३० जना अधिकारी र प्रदर्शनकारी घाइते भएका थिए ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट