तिहारको लक्ष्मीपूजामा झिलिमिली देखियो शहर बजार
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका मुख्य शहर बजार झिलिमिली भएका छन् । बिहीबार बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएको हो । लक्ष्मी पुजासँगै काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहरबजार झिलिमिली भएका हुन् । तिहारमा घर तथा कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका छन् ।
काठमाडौंमा विगत दिनमाभन्दा हिजो बेलुका लक्ष्मी पुजासँगै धेरै चहलपहल देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिने भएकाले रातभर जाग्राम बसेर लक्ष्मीको आराधना गरिन्छ । रातभर जाग्राम बसेर लक्ष्मीपूजा पर्व मनाइने भएकाले पनि काठमाडौं उपत्यकामा चहलपहल बढेको हो ।
राति नौ बजेपछि सुनसानप्रायः हुने काठमाडौंका सडकमा गएराति अबेरसम्म बाक्लै चहलपहल देखियो । भैलो खेल्नेको चलहपहल पनि उत्तिकै थियो । यमपञ्चक अर्थात् तिहारअन्तर्गत औँसीको दिन आज कुनै पर्व नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमले जानकारी दिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया