Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

ट्रम्पले जित्दा नेपालमा सुनको भाउ एकैदिन चार हजार रुपैयाँले घट्यो


काठमाडौं । सुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको सुनको भाउ आज चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यही कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी ५५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक मूल्य समायोजन हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन ३.२ प्रतिशत हाराहारीमा घटेको छ । बुधबार सुरुवाती कारोबारमा प्रतिऔंस २७४५ अमेरिकी डलर रहेको सुन बिहीबार सुरुवाती समयमा २६५७ सम्म झरेको थियो ।

अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पको पुनरागमनले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको छ ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट