Techie IT
Samayabaddha
शनिबार, २० पुस, २०८१

माओवादी केन्द्रकाे सक्रिय राजनीतिमा फर्कने तयारीमा पासाङ


पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा लागिरहेकै बेलामा उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि माओवादी केन्द्रको राजनीतिमा महत्त्वपूर्ण  भूमिकामा आउन लागेका छन् । विशेषगरी रोल्पा, रूकुम क्षेत्रको राजनीतिक सन्तुलनका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले पासाङलाई उपाध्यक्षको भूमिकामा ल्याउन जोड दिएकाे खुमलटार निकट स्राेतले जानकारी दिएकाे छ । जनयुद्धका बेला लोकप्रिय नेताको रूपमा स्थापित भएका पासाङले रोल्पामा नेतृत्वको खडेरी पूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने अनुमान एकथरिले गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपति बन्दा पार्टीको भूमिकाबाट विदा लिनुपर्ने प्रावधान छ । यसअघिका राष्ट्रपति र उपराष्ट्रपति पनि सक्रिय राजनीतिमा फर्केका छैनन् ।

राजनीतिक परिदृश्य र पासाङको योगदान

रोल्पा र रुकुमका संघर्षशील भूमिगत कालखण्डमा योगदान गरेका नेताहरू एकपछि अर्काे विवादमा तानिएका छन् । उपाध्यक्ष कृष्णबहादुर महरा विभिन्न विवादमा तानिएका कारण सक्रिय हुन नसक्ने अवस्थामा छन् भने प्रभावशाली नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्रलाई छोडेर छुट्टै पार्टी गठन गरेका छन् । माओवादी केन्द्रसँग एकता गरे पनि पार्टी अध्यक्ष प्रचण्ड र उनी निकट व्यक्तिको विश्वास जित्न सजिलाे छैन । उपमहासचिव वर्षमान पुन पनि कतिपय विवादित आर्थिक प्रकरणमा जाेडिएका र स्वास्थ्यकै समस्याका कारण पनि राजनीतिक सक्रियतामा अवरोध भएको छ । यस अवस्थाको मध्यनजर गर्दै माओवादी केन्द्रकाे नेतृत्वले रोल्पामा पासाङको सशक्त भूमिकाको खोजी गरेको देखिन्छ । रूकुमका स्थापित नेता जनार्दन शर्मासँग टक्कर दिनका लागि पनि पासाङकाे आवश्यकताबाेध गरिएकाे हुनसक्छ ।

पासाङको छवि र विवादित सम्पत्ति

हालसालै पासाङको छवि केही विवादमा तानिएको छ । उनको काठमाडौंस्थित घरजग्गाको स्रोतप्रति प्रश्न उठाउँदै नेकपा बहुमत पक्षले उनको घर कम्पाउण्डमा पोस्टर टाँसेका थिए । यस घटनाले पासाङको सम्पत्ति विवादमा पारिएको छ । यसबाहेक, उनका दुवै छोराहरू सहकारी र सुन प्रकरणमा तानिएकाले उनको व्यक्तिगत छवि र पारिवारिक प्रतिष्ठामा असर परेको छ ।

सुविधाको विषयमा भण्डारी र पासाङबीचको भिन्नता

पूर्व राष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउँदै गर्दा राज्यबाट कुनै सुविधा लिएकी छैनन् । तर, पासाङले भने सरकारी सुविधा लिइरहेको समाचार बाहिर आएको छ । यसले उनीप्रति प्रश्नचिन्ह खडा गरेको छ । राज्यबाट सुविधा लिएर सक्रिय राजनीतिक भूमिकामा आउन लागेका पासाङको यो निर्णयले पार्टीभित्रै विभिन्न प्रतिक्रिया उत्पन्न गराएको छ ।

माओवादी केन्द्रका लागि पासाङको भविष्य

पासाङको भूमिकालाई प्रचण्डले महत्वपूर्ण मान्दै आए पनि उनका वरपर उठेका विवादहरूले माओवादी केन्द्रभित्रै थप चुनौती खडा गरेको छ । पासाङको इमानदारी र सोझोपनको छवि राजनीतिक यात्रा सुरु गर्दा उनको बलियो पक्ष थियो तर सम्पत्तिको विवाद र परिवारका सदस्यहरूको काण्डले उनको विश्वसनीयतामा आँच पुर्याएको छ । अब पासाङले आफ्नो छवि सुधार गर्दै प्रचण्डको अपेक्षामा खरो उत्रनु पर्ने चुनौती सामना गर्नुपर्नेछ ।

रोल्पामा स्थायित्व कायम गर्न पासाङलाई उपाध्यक्ष बनाउने निर्णयले माओवादी केन्द्रको शक्ति सन्तुलनमा के कस्तो प्रभाव पार्ला, यो हेर्न बाँकी नै छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट