Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

ट्रम्पको पुनः जित र नेपालले अपनाउनु पर्ने कूटनीतिक रणनीति


समाचार विश्लेषण

गत साता सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको पुनः जितले नेपालमा नयाँ चर्चा र विश्लेषण सुरु भएको छ । ट्रम्पको विजयसँगै अन्तर्राष्ट्रिय कूटनीति र विशेषगरी नेपालको कूटनीतिक व्यवहारमा महत्वपूर्ण प्रभाव पर्ने देखिन्छ । ट्रम्पको नेतृत्वमा अमेरिकाले कस्तो विदेश नीति अपनाउनेछ र त्यसले नेपाललाई कसरी असर पु¥याउनेछ भन्ने प्रश्नसँगै नेपालले कस्ता कूटनीतिक रणनीतिहरू अवलम्बन गर्नुपर्नेछ भन्ने बहस अहिले बढेको छ ।

ट्रम्पको विदेश नीति र नेपालको कूटनीतिक चुनौती

डोनाल्ड ट्रम्प जनवरी २० देखि आफ्नो दोस्रो कार्यकालको शपथ लिँदैछन् । उनको नेतृत्वमा अमेरिकाले सम्भवतः सधैंको जस्तै कडा व्यापारिक र कूटनीतिक नीति लिनेछ । ट्रम्पको पहिलो कार्यकालमा चीनसँगको व्यापार युद्ध प्रमुख थियो । यतिबेला योसँगै रूस–युक्रेन युद्ध र इजरायल–प्यालेस्टाइन संघर्ष लगायतका मुद्दा प्रखर रुपमा छन् । यसपटक उनले विश्व राजनीतिमा आफ्नो प्रभावलाई अझ विस्तार गर्ने प्रयास गर्नेछन् । ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा के कस्ता निर्णयहरू लिन सक्छन् भन्ने कुरामा विभिन्न कूटनीतिक विश्लेषकहरूले चासो देखाएका छन्, विशेषतः चीन र रूससँगको सम्बन्धका सन्दर्भमा ।

नेपालका लागि ट्रम्पको नीति चुनौतीपूर्ण साबित हुन सक्छ । अमेरिका र चीनबीचको व्यापारिक तनाव बढ्नु, अवैध आप्रवासनका मुद्दामा कडा कदम चाल्नु र अन्य अन्तर्राष्ट्रिय विवादमा अमेरिकी नेतृत्वको कडा दृष्टिकोणले नेपालको कूटनीतिक रणनीतिमा गम्भीर असर पार्न सक्छ ।

चीनसँगको सम्बन्ध र ट्रम्पको कूटनीति

ट्रम्पको प्रशासनमा चीनसँगको कूटनीतिक द्वन्द्व बढ्न सक्छ । उनको पहिलो कार्यकालमा चीनसँगको व्यापार युद्ध सुरु गरिएको थियो र यो द्वन्द्व अझ चर्किने सम्भावना छ ।

ट्रम्पले चीनबाट आयात गरिने वस्तुमा अतिरिक्त शुल्क थप्ने नीति जारी राख्नेछन्, जसले नेपालको व्यापार र आर्थिक गतिविधिमा असर पु¥याउन सक्छ । नेपालको चीनसँग गहिरो आर्थिक र व्यापारिक सम्बन्ध छ ।

चीनसँगको व्यापारिक युद्धको असर नेपाललाई अप्रत्यक्ष तर ठूलो रूपमा पर्न सक्छ । चीनसँगको द्विपक्षीय व्यापारमा वृद्धि भइरहेको छ । यदि ट्रम्पले चीनसँगको व्यापार युद्धलाई थप चर्काउने निर्णय गरे भने नेपाललाई आफ्नो कूटनीतिक र व्यापारिक पक्षमा सावधानी अपनाउनु पर्नेछ । नेपालले अमेरिकातिर नढल्की सन्तुलन कायम राख्न सके मात्र यस स्थितिबाट केही फाइदा लिन सक्छ । छिमेकी देश चीन र भारतभन्दा अमेरिकातिर ढल्किने अवस्था बन्यो भने नेपालको स्वाधीनतामा नै गम्भीर असर पर्नसक्छ । युक्रेनको दोस्रो संस्करण नेपाल बन्न सक्छ ।

अवैध आप्रवासन र नेपालमा आन्तरिक असर

ट्रम्पको कूटनीतिक रणनीतिमा अर्को महत्वपूर्ण पक्ष भनेको अवैध आप्रवासन नियन्त्रण हो । उनले आफ्नो पहिलो कार्यकालमा यस विषयमा कडा कदम चाल्न निर्देशन दिएका थिए र अब दोस्रो कार्यकालमा पनि यसमा कडा रुख अपनाउने सम्भावना छ । अमेरिकामा रहेका अवैध आप्रवासीहरूको ठूलो संख्या विशेषगरी ल्याटिनी अमेरिकी र दक्षिण एशियाली मुलुकहरूका नागरिकहरूको छ, जसमा नेपाल पनि समावेश छ ।

अवैध आप्रवासनको मुद्दाले नेपाललाई एकातिर अवैध आप्रवासीहरू अमेरिकी अर्थतन्त्रका साना उद्योग र व्यवसायमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्, जसको असर धेरै परिवार र व्यवसायमा पर्छ । यदि ट्रम्पका नीतिहरू लागू भए र लाखौं अवैध आप्रवासीलाई अमेरिका बाहिर पठाइएको खण्डमा नेपालका लागि यसले ठूलो आर्थिक र सामाजिक संकट तत्काल निम्त्याउन सक्छ ।

नेपालको कूटनीतिक रणनीति

ट्रम्पको दोस्रो कार्यकालको आधारमा नेपालको कूटनीतिक रणनीतिमा महत्वपूर्ण परिवर्तन आवश्यक छ । नेपाललाई अमेरिकासँगको सम्बन्धमा बढी लहसिदा यसले सम्भावित दुर्घटना निम्त्याउन सक्छ । नेपालले विशेष ध्यान दिनु पर्ने कुरा भनेको चीन र भारतसँगको कूटनीति र आर्थिक सम्बन्धबीच सन्तुलन कायम राख्नु हो । नेपालले दुई महाशक्तिलाई चिढाएर अर्काे टाढाको महाशक्ति अमेरिकाको निकट बन्दा दीर्घकालीन द्वन्द्वमा पर्ने खतरा छ । आफ्नो स्वाधीन र सन्तुलित कूटनीतिक नीति अवलम्बन गरेर जानु महत्वपूर्ण हुन्छ । यसो भनेर अमेरिकासँग नेपालले सन्तुलन गुमाउन आवश्यक छैन । ऊसँग क्षेत्रीय सुरक्षाको समवेदनशीलतालाई केन्द्रमा राखेर सन्तुलित सम्बन्ध राख्न पहल बढाउनु पर्छ ।

नेपालले यसको लागि केही प्रमुख कूटनीतिक दृष्टिकोणहरू अपनाउन सक्छः

सन्तुलित कूटनीतिः नेपालले अमेरिका र चीनसँगको सम्बन्धमा सावधानीपूर्वक सन्तुलन राख्नु पर्नेछ । नेपाललाई कुनै एक पक्षमा झुकाव नगरी दुवै पक्षसँगको मित्रवत् सम्बन्धलाई प्राथमिकता दिनु आवश्यक छ ।

आर्थिक वैकल्पिकतामा वृद्धिः नेपालले चीनसँगको व्यापारिक सन्धिहरूलाई अझ मजबुत बनाउन सक्नेछ । विशेष गरेर चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का अवसरहरूको सदुपयोग गरेर नेपालले आफ्नो आर्थिक स्थिति मजबुत बनाउन सक्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन गइरहेको चीन भ्रमणमा बीआरआईलाई नेपालको हितमा सम्झौता गर्न पहल गर्नुपर्छ ।

विविध कूटनीतिक सम्वन्धहरू स्थापनाः नेपालले विश्वका अन्य प्रमुख शक्तिहरूसँग सम्वन्ध विस्तार गर्दै अमेरिकासँग समृद्ध कूटनीतिक सम्बन्ध राख्नका लागि द्विपक्षीय र बहुपक्षीय संवादलाई जारी राख्नु पर्छ । विशेषगरी चीन, भारत र अन्य क्षेत्रीय शक्ति राष्ट्रहरूसँगको कूटनीतिक सम्वन्ध बलियो बनाउनु पर्नेछ ।

जेहोस, अमेरिकामा डोनाल्ड ट्रम्पको पुनः जितले नेपालको कूटनीतिमा नयाँ दिशा दिन सक्छ । अमेरिका र चीनबीचको तनावका बीच नेपाललाई अत्यन्त सावधानी र विवेकका साथ आफ्नो कूटनीतिक रणनीति निर्धारण गर्नुपर्नेछ । नेपालले अमेरिका र चीनको बीचमा सन्तुलन कायम राख्दै आफ्ना राष्ट्रिय हितहरू सुनिश्चित गर्नका लागि चतु-याइँ अपनाउनु पर्नेछ ।

अमेरिका र नेपालबीचको कूटनीतिक सम्बन्धलाई सन्तुलित तरिकामा सम्हाल्न आवश्यक छ । यस्तो नीति अवलम्बन गर्दा नेपालले अमेरिकी र चिनियाँ प्रतिद्वन्द्विताको बीचमा आफ्नो स्वतन्त्रता र कूटनीतिक स्वायत्तता कायम राख्न सक्छ । यसरी नेपालले कूटनीतिक चातुर्य र सन्तुलनको माध्यमबाट ट्रम्पको दोस्रो कार्यकालमा नयाँ अवसरहरू पाउने सम्भावना छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, बिचार

प्रतिक्रिया


ताजा अपडेट