Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

श्रीलङ्काको विधानसभा चुनावमा वाम गठबन्धनको शानदार जित


कोलम्बो, ३० कात्तिक । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा शानदार जित हासिल गरेको छ । मार्क्सवादी दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजय हासिल गरेका थिए ।

तत्काल चुनाव गराउने र आफ्नो एजेन्डाका लागि संसदीय समर्थन सुरक्षित गर्ने उहाँको निर्णयलाई समर्थन मिलेको छ । दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनले २२५ सदस्यीय विधानसभामा कम्तीमा १२३ सिट जितिसकेको छ भने मतगणना भइरहेका अन्य केही स्थानमा पनि अग्रता कायम भएको छ ।

समाचार तयार पार्दासम्म गणना भएका तीन चौथाइभन्दा बढी मतमध्ये गठबन्धनले ६२ प्रतिशत मत प्राप्त गरेको छ भने विपक्षी नेता सजिथ प्रेमदासाको पार्टी १८ प्रतिशत मतका साथ निकै पछि परेको छ ।

“जनताले भ्रष्टाचार र भ्रष्ट प्रणालीबाट छुटकारा पाउनका लागि मतदान गरेका छन्,” चुनावमा एनपीपीलाई समर्थन गर्ने सूचना प्रविधिका व्यवसायी चानाका राजपाक्षले शुक्रबार बताए।

अल्पसङ्ख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्ला जाफनामा उनको पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

एक मजदुर परिवारमा जन्मिएका ५५ वर्षीय राष्ट्रपति दिसानायकेले बिहीबारको चुनावमा मतदान गरेपछि संसदमा ‘सशक्त बहुमत’ साथ आफ्नो गठबन्धनलाई अगाडि बढाउने अपेक्षा गरेको बताएका थिए।

उनले भने, “हामीलाई विश्वास छ, यो एक महत्त्वपूर्ण चुनाव हो जसले श्रीलङ्कामा एउटा परिवर्तनको सङ्केत गर्नेछ । यो चुनावमा एनपीपीले संसदमा बलियो बहुमतका लागि जनादेश पाउने हाम्रो विश्वास छ ।”

प्रहरीका अनुसार, हालका वर्षहरूमा अधिकांश मतदानको विपरीत नौ घण्टाको मतदान अवधि कुनै हिंसात्मक घटना बिना बितेको छ । तर ड्युटीमा रहेका बेला एक प्रहरी हवल्दारसहित तीन जना निर्वाचन कार्यकर्ताको रोगका कारण मृत्यु भएको थियो ।

श्रीलङ्कामा गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा भन्दा कम ७० प्रतिशतको हाराहारीमा खसेको सञ्चारमाध्यमले जनाएका छन् ।

करिब २५ वर्षदेखि सांसद रहँदै आउनुभएका वर्तमान राष्ट्रपति दिसानायकेले केही समयका लागि कृषिमन्त्रीको रूपमा समेत काम गरेका थिए । उनको एनपीपी गठबन्धनले निवर्तमान विधानसभामा जम्मा तीन सिट मात्र जितेको थियो ।

देशलाई सन् २०२२ को आर्थिक सङ्कटतर्फ धकेलेको आरोप लागेका संस्थापन पक्षका राजनीतिज्ञहरूबाट आफूलाई सफलतापूर्वक अलग्गै राखेपछि उनी सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपति पदका लागि निर्वाचित भएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति

प्रतिक्रिया


ताजा अपडेट