Techie IT
Samayabaddha
शनिबार, २० पुस, २०८१

पालिका उपचुनाव चटारो : दलहरु उम्मेदवारको अन्तिम टुङ्गो लगाउन जुटे


काठमाडौं । मङ्सिर १६ गते रिक्त पालिकामा हुने उपचुनावका लागि प्रमुख दल उम्मेदवारको अन्तिम टुङ्गो लगाउन जुटेका छन् । नेकपा (एमाले) ले सबैजसो उम्मेदवारको टुङ्गो लगाए पनि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले केही बाहेक उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रिक्त रहेका ४४ मध्ये ४२ पदमा उम्मेदवारको टुङ्गो लागेको र बाँकी दुई पदको पनि आज अन्तिम निर्णय हुने बताएका छन् । उनका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर र एक वडाध्यक्ष पदका लागि उम्मेदवार निर्णय हुन बाँकी छ ।

कांग्रेसबाटै मेयरमा जितेका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकामा उपचुनाव हुन लागेको हो । तर कांग्रेसलाई कीर्तिपुरमा मेयरको उम्मेदवार तय गर्न सकस देखिएको छ ।

माओवादीले कीर्तिपुरको मेयरमा प्रा.डा.शिवशरण महर्जन, एमालेले डा.सुरेन्द्र मानन्धर र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा सिफारिश गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि उम्मेदवार चयनमा सकस परेको छ ।

उपचुनावका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । सत्तामा सहकार्य भए पनि उपचुनावमा तालमेल वा सहकार्य नभएको कांग्रेस र एमालेले जनाएका छन् । सरकारबाहिर रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले पनि छुट्टाछुट्टै उम्मेदवारी दिने गरी तयारी गरेका छन् ।

निर्वाचन आयोगका अनुसार मङ्सिर १६ मा जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिकाको अध्यक्ष दुई, उपाध्यक्ष तीन, वडाध्यक्ष ३५, नगरपालिकाको मेयर र उपप्रमुख एकरएक गरी ४४ पदमा उपचुनाव हुनेछ ।

यसैबीच उपचुनावका लागि ३८ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उपचुनाव हुने सम्बन्धित पालिका तथा वडाको केन्द्र रहेको ठाउँमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए ।

भोलि उम्मेदवारको मनोनयन दर्ता, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट