Techie IT
Samayabaddha
सोमबार, २९ पुस, २०८१

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने


काठमाडौं । पूर्व सभामुख स्व. दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सभामुख ढुङ्गाना बिदाइ राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

साथै बैठकले ढुङ्गानाको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । बैठकले ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय गरेको गुरुङको भनाई छ ।

ढुङ्गानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । ढुङ्गानाको पार्थिव शरीर सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सानो गौचरणमा हुने ढुङ्गानाको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेछन्। स्वर्गीय ढुङ्गानाका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट