Techie IT
Samayabaddha
सोमबार, २९ पुस, २०८१

दुर्गा प्रसाईंको घरबाट ३ ल्यापटप र ९ मोबाइल बरामद


काठमाडौं । विवादास्पद अभिब्यक्ति दिएका व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल प्रहरीले बरामद गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

त्यसक्रममा उनको घरमा खनतलासी गरेर ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको सीआईबी स्रोतले जनायो । विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिनसक्ने हुँदा घरबाट अन्य विद्युतीय सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईंबाट बरामद ल्यापटप र मोबाइललाई जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाउने तयारी छ । डीएफएलबाट ल्यापटप र मोबाइलमा डिलिट भएका विवरण पनि रिकभर हुन्छन् ।

‘त्यस्तो कीर्ते कागजात उनले कसरी बनाए ? अरु कसैले पठाएको हो भने कसले पठायो भन्ने विषय पनि अनुसन्धानका क्रममा खोज्नुपर्ने भएकाले बरामद गरेका हौं’, एक अनुसन्धान अधिकृतले भने, ‘मोबाइल र ल्यापटपबाट ती कागजातको स्रोत पत्ता लाग्न सक्छ भन्ने अपेक्षा हो ।’

प्रसाईंले सोमबार युट्युबरहरु बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबी गरेका थिए । त्यसक्रममा उनले प्रमाण भन्दै केही कागजपत्र पनि सार्वजनिक गरेका थिए ।

प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजातहरु कीर्ते गरेर तयार पारिएको देखिएको छ । गलत विवरणका भरमा प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएपछि उनी अनुसन्धानको दायरामा परेका थिए ।

प्रसाईंमाथि सरकारी लिखत कीर्तेको कसुरमा पनि अनुसन्धान गर्ने प्रहरी तयारी छ । सीआईबीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि उनलाई साइबर ब्यूरोको जिम्मा लगाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट