पाल्पाको रामपुरमा झुसिल कीराको प्रकोपले किसान समस्यामा
पाल्पा । पाल्पाको रामपुरमा काउली, बन्दा, साग, मुलालगायत तरकारी बालीमा झुसिल कीराको प्रकोप बढेको छ । कीराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनमा लागेका किसान समस्यामा परेका छन् ।
रामपुर नगरपालिका–६ की राधिका बस्यालले काउलीमा झुसिल कीराको प्रकोपले सताएको बताइन् । उनले भनिन्, ‘बोट फस्टाएका छन् तर कीराको प्रकोपले फूल लाग्न पाएको छैन, कीरा मार्ने प्रयास गरे पनि समस्या उस्तै छ ।’
यस्तै रामपुर–५ राङभाङका टिकीसरा गौतमको काउलीमा पनि कीराले सताएको छ । व्यावसायिक उत्पादनमा लागेकी उनलाई पनि उत्पादन नै नहुने हो कि भन्ने चिन्ता छ ।
झुसिल कीराको प्रकोप नियन्त्रण गर्न रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरीक्षण गरेको छ । पालिकाले किसानलाई निःशुल्क विषादी वितरण गरेको शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए ।
बेमौसमी खेती भएकाले कीराको प्रकोप भएको उनले बताए । ‘इनामेक्टिन इन्जाइम बेन्जोइड’ विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको कृषि शाखाका प्रमुख गैरेले बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया