गुल्मीमा सुन्तलाका बोट पहेँलो हुने रोगको प्रकोप
काठमाडौं । गुल्मीमा पाक्ने बेलामा सुन्तलाका बोट पहेँलो हुने रोगको प्रकोप देखिएको छ । बोटहरु पहेँलो हुने र दानाहरु पनि नपाक्दै पहेँलो भएर झर्ने गरेका कारण किसान चिन्तित बनेका हुन ।
रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका र छत्रकोट गाउँपालिकाका सुन्तलामा यस्तो समस्या बढी देखिएको छ । सुन्तला पाक्ने समयमा अचानक यस्तो समस्या देखिएको रेसुङ्गा नगरपालिका–५ का डिलबहादुर सुनारले गुनासो गरे ।
धुर्कोट गाउँपािलका–७ वाग्लाका किसान धनराज पौडेलेको सुन्तला बगैचामा पनि बोट पहेलो हुने रोग देखा परेको छ । उनको बगैँचामा एक हजार वटा भन्दा धेरै सुन्तलाका बोटहरु रहेका छन ।
गएको वर्ष चार लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्नुभएका पौडेलको बगैँचामा रोगका कारण अहिले एक लाख रुपैयाँको सुन्तला बिक्री गर्न पनि समस्या छ ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले सुन्तलाका बोटको फेदमा बढी चिसोपना भएकाले रोग देखा पर्ने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न ढुसी नासक विषादी प्रयोग गर्नुपर्ने बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया