Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

रुसद्वारा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार


रुसले युक्रेनमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । रुस–युक्रेन युद्धमा पहिलो पटक हजारौं किलोमिटर परसम्म प्रहार गर्नसक्ने शक्तिशाली क्षेप्यास्त्रको प्रयोग भएको युक्रेनको वायु सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युक्रेनले पहिलो पटक रुसको भित्री भागमा अमेरिका र बेलायतले दिएको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेपछि रुसले आज अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको खबरमा उल्लेख छ ।

युक्रेनी वायु सेनाले रुसले विभिन्न प्रकारका क्षेप्यास्त्रहरूसहित डिनिप्रोलाई लक्षित गरी आक्रमण गरेको बताएको छ । रुसले आज बिहान डिनिप्रो क्षेत्रमा क्षेप्यास्त्र प्रहार गर्दा दुई जना घाइते भएका डिनिप्रोका क्षेत्रीय प्रमुखले बताएका खबरमा उल्लेख छ । रुसले ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोगबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

युक्रेनी सेनाले रुसी आक्रमणका क्रममा ६ वटा के–१०१ क्रुज क्षेप्यास्त्र खसालेको बताएको छ । यस्तै रुसी रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षाले बेलायतले बनाएको दुई वटा स्टर्म स्याडो क्रुज क्षेप्यास्त्र खसालेको दाबी गरेको छ ।

ब्यालेस्टिक क्षेप्यास्त्रहरू प्रहार गरिएको क्षेत्रबाट हजारौं किलोमिटर टाढा जान सक्षम हुन्छन् । छोटो दूरी, मध्यम दूरी, मध्यवर्ती र लामो दूरी गरी चार प्रकारका ब्यालेस्टिक क्षेप्यास्त्र हुन्छन् । सबैभन्दा लामो दूरीको श्रेणाीमा पर्ने अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र पाँच हजार पाँच सय किलोमिटरभन्दा परसम्म पुग्न सक्षम हुन्छ । यसको अर्थ यो क्षेप्यास्त्रले संसारको कुनै पनि ठाउँमा प्रहार गर्न सक्छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट