अलैंचीको मूल्य उच्च विन्दूमा, ४० किलाेकाे एक लाख सात हजार रुपैयाँ
ताप्लेजुङ । माग बढेसँगै अलैंचीको बजार मूल्य यस वर्ष उच्च भएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा अलैंचीको गुणस्तरका आधारमा आज प्रतिमन (४० किलो) को एक लाख सात हजार रुपैयाँसम्ममा खरिदरबिक्री भएको छ ।
अलैंची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तर गरी दुई प्रकारले खरिदरबिक्री हुने गर्छ । ठूलो दाना भएको, पुच्छर काटेको, धुलोरहितको अलैंची प्रतिमन एक लाख सात हजार र मध्यम गुणस्तरको अलैंची अर्थात् सानो दाना, पुच्छर काटेको, धुलोरहित अलैंची प्रतिमन एक लाख चार हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सामान्य गुणस्तर भएको अलैँची प्रतिमन एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
कृषि विज्ञहरूका अनुसार सामान्यतया बजारमा नयाँ उत्पादन आउन थालेपछि मूल्य घट्ने सम्भावना हुन्छ । यस वर्षको अवस्थामा भने उल्टो देखिएको छ । अलैंचीको मूल्य निरन्तर वृद्धि हुँदै गएको छ ।
अलैंची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले भदौको पहिलो हप्तादेखि बजारमा निस्किएको अलैंचीको मूल्य लगातार बढिरहेको बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया