चिलिमेका ३ जलविद्युत आयोजनाको निर्माण सम्पन्न, १६८ मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका ३ वटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । ३ वटा जलविद्युत आयोजनाहरु निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाहरुबाट उत्पादित विद्युत् विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०–१३२–३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो ।
१४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यवसायीक रुपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोड रुपैयाँको विद्युत् बिक्री गरिसकेको छ । ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रुपमा विद्युत उत्पादन सुरु गरिएको छ ।
१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रुपमा विद्युत उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएपछि एवम् तोकिएका मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यवसायीक रुपमा विद्युत् उत्पादन सुरु हुने छ । दुवै आयोजनाहरुबाट यही महिनाभित्रमा व्यवसायीक रुपमा विद्युत् उत्पादन हुनेछ । नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाहरुबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत उत्पादन हुन्छ ।
चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशीबाहेक तीनवटा आयोजनाहरु सम्पन्न भएका हुन्।
सबै आयोजनाहरु २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवम् बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिव अवस्था, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहे ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोभिड–१९को महामारी, कोभिड–१९पछि चीनसँगको सीमा बन्द हुँदा सामान आयातमा सिर्जित समस्यालगायतको चपेटामा परेका थिए । यसले गर्दा आयोजनाहरुको निर्माण प्रभावित भएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजनाहरु निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धी भएको बताए । ‘म चिलिमे कम्पनीको प्रबन्ध–सञ्चालक भएकावेला आमसर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चारवटै आयोजनाहरुको निर्माण अगाडि बढाइएको थियो, मुख्य रुपमा काबु बाहिरको परिस्थितिका कारण आयोजनाहरुको निर्माणमा केही समय लागेतापनि अब ३ वटा आयोजनाहरुको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ, बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाहरुले हिउँदयाममा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन्,’, कार्यकारी निर्देशक घिसिङले भने ।
भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिंदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही बृद्धि भएको छ । माथिल्लो सान्जेन र सन्जेन गरी दुवै आयोजनाहरुको अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक ७ अर्ब ३५ करोड रुपैयाँ थियो । आयोजनाको प्रवद्र्धक साञ्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अर्पण बहादुर सिंहले निर्माण अवधिको व्याजबाहेक आयोजनाहरुको लागत ९ अर्ब २० करोड हुने अनुमान गरिएको बताए । सिइओ सिंहले लागत अनुमान बमोजिम दुवै आयोजनाहरुको अनुमानित लागत प्रति मेगावाट साढे २२ करोड रुपैयाँ हुने देखिएको उल्लेख गरे । चिलिमेका चार वटै आयोजनाहरुमा कर्मचारी सन्चय कोषले ऋण प्रवाह गरेको हो ।
कम्पनीमा चिलिमे जलविद्युत कम्पनीको ३९.३६ प्रतिशत, प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह) का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष) का कर्मचारीहरु, आयोजना प्रभावित रसुवाबासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण सेयर छ ।
माथिल्लो सान्जेन र सान्जेनबाट वार्षिक रुपमा १ अर्ब ८० करोड युनिट विद्युत उत्पादन हुनेछ । माथिल्लो साञ्चेनलाई विद्युतको बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७०-७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ । यसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ । उक्त पोखरीमा पानी सञ्चय गरी साँझको समयमा थप विद्युत् उत्पादन गरी हिउँदयामका साँझको समयमा थप विद्युत् उत्पादन गरी प्रणालीलाई सन्तुलन बनाउन योगदान पुग्ने सीइओ सिंहले बताए ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया