Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

रूसमा सन्तान नजन्माउन प्रोत्साहन गर्ने सबै किसिमका कार्यक्रम माथि प्रतिबन्ध


रूसले सन्तान नजन्माउन प्रोत्साहन गर्ने कार्यक्रम माथि प्रतिबन्ध लगाएको छ । नयाँ पुस्ताले विवाह गर्न र सन्तान जन्माउन अरुचि देखाउँदै गएको सन्दर्भमा सरकारले एउटा कानून बनाएर सन्तान नजन्माउन प्रोत्साहन गर्ने अभियान माथि प्रतिबन्ध लगाएको रूस सञ्चारमाध्यम आरटीले जनाएको छ ।

राष्ट्रपति भ्यादिमिर पुटिनले हस्ताक्षर गरेर कार्यान्वयनमा ल्याउनुभएको कानूनमा बच्चा नजन्माउन प्रोत्साहन गर्ने खालका कुनै पनि प्रचार गर्ने व्यक्तिलाई ५० हजारदेखि एक लाख रुबलसम्म जरिमाना तोकिएको छ ।

यस्तै सरकारी कर्मचारी तथा अधिकारीको यस्ता गतिविधि गरेमा एक लाखदेखि दुई लाख रुबलसम्म जरिमाना तिर्नुपर्छ । संस्थागत अभियानमा ५० लाख रुबलसम्म जरिमानाको व्यवस्था रहेको आरटीको खबरमा उल्लेख छ ।

सामाजिक सञ्जाल, आमसञ्चार, चलचित्र वा विज्ञापन कतै पनि सन्तान नजन्माउन प्रोत्साहन गर्ने सामग्री समेट्न पाइदैन । रूस सरकारले पछिल्ला दशकहरूमा बहुसन्तानको अभियान चलाइरहेको छ ।

चीन, जापान, दक्षिण कोरियालगायतका देशमा जस्तै रूसमा पनि नयाँ जन्मिने मानिसको सङ्ख्या घटेपछि सरकारले सन्तान जन्माउन प्रोत्साहनका कार्यक्रम ल्याइरहेको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट