उत्तर र दक्षिण कोरियाको सीमावर्ती क्षेत्रमा ‘लाउडस्पिकर’ युद्ध चर्कियो
उत्तर र दक्षिण कोरियाको सीमावर्ती क्षेत्रमा ‘लाउडस्पिकर युद्ध बढ्दा राति सुत्नसमेत नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । सीमावारि र पारि बस्नेहरू दुई देशका सेनाहरूले चर्को कर्कश आवाज निकालेर बजाउने लाउडस्पिकरका कारण पीडित भएका हुन् ।
बीबीसीले गरेको स्थलगत रिपोर्टिङमा उत्तर र दक्षिण दुवै कोरियाका बासिन्दाले चर्को आवाजका कारण हैरान भएको बताएका छन् । केही महिनादेखि दुई कोरियाबीच बढेको सैन्य तनावसँगै सीमावर्ती क्षेत्रमा चर्को आवाज निकाल्ने क्रम पनि बढेको छ ।
केही समयअघि दक्षिण कोरियाली भू–भागबाट ‘बलून’ मा राखेर उत्तर कोरिायली नेता किम जङ अनको विरोध गर्दै छापिएका पर्चासहितका सामग्री उत्तरपट्टि पठाइएको थियो । यस्तै दक्षिणका सेनाले सीमापारि बस्ने मानिसले सुन्ने गरी चर्को आवाजमा लाउडस्पिकरबाट विभिन्न सन्देशहरू बजाउन थालेपछि उत्तर कोरियाले त्यही शैलीमा जवाफ दिन थालेको हो ।
दक्षिण कोरियाले यसअघि पनि चर्को आवाजमा बजाउने गरेकोमा उत्तर कोरियाले भने पहिलो पटक चर्को आवाजमा लाउडस्पिकर बजाएको बीबीसीले जनाएको छ । चर्को आवाज १० किलोमिटर टाढासम्म पुग्छ ।
सीमावर्ती क्षेत्रका बासिन्दाले चौबिसै घण्टा निस्किने चर्को कर्कश आवाजबाट आफू निदाउन नसकेको र बिरामी पर्न थालेको बताएका छन् । सन् १९४५ देखि १९५४ सम्म चलेको युद्धबाट २० लाख जनाभन्दा धेरै मानिस गुमाएका उत्तर र दक्षिण कोरिया युद्ध सकिएको वर्षौँसम्म पनि हतियारविना विभिन्न तरिकाबाट लडिरहेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया