Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

कुलमानको नयाँ कदम : महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । उनले नेपाल राष्ट्र बैंकको साथै धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै कारबाही गर्न सिफारिश गरेका छन् ।

प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाएका हुन् ।

उनले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार गरेका छन् ।

पत्रमा बक्यौता नबुझाउने उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर जारी गर्न, हक हस्तान्तरण गर्न र धितो बन्धक दिन नपाउने गरी रोक्का राखी बक्यौता महसुल असुल उपर गर्न सहयोग गरिदिन कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डलाई पनि अनुरोध गरिएको छ ।

पत्रमा २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका उद्योगको नाम र बक्यौता रकम पनि उल्लेख गरिएको छ ।

बैंक खाता रोक्का गर्ने पत्राचारको जानकारी घिसिङले नियमनकारी निकाय विद्युत् नियमन आयोगलाई पनि गराएका छन् ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट