जनकपुरमा विवाहपञ्चमी महोत्सवको रौनक सुरु
काठमाडौं । जनकपुरधाममा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।
सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि फूलबारी लीला, तेस्रो दिन मङ्गलवार धनुष यज्ञ, चौथो दिन बुधवार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।
महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रूपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ । नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताउनुभयो । त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ ।
महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् । महोत्सव सम्पन्न गर्न जानकी मन्दिरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । यो वर्ष पनि विवाहपञ्चममीमा सहभागी हुन भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने कार्यक्रम छ ।
क्याटेगोरी : प्रदेश खबर, समाचार
प्रतिक्रिया