Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

नक्कली मह बिक्री गरेको आरोपमा १३ जना पक्राउ


टीकापुर, १६ मङ्सिर । गाउँ गाउँ घुमेर मह बेच्ने १३ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले बसपार्क नजिकैको आँधीखोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट पाँच क्विन्टलभन्दा बढी मह बरामद गरेको छ ।

मह बिक्रेताहरूले मरेका मौरी, मौरीको चाका र मह अलगअलग भाँडामा राखेको अवस्थामा फेला परेका छन् । मरेका मौरी र सुकेको चाका अलगअलग बाल्टीमा र मह प्लास्टिकका झोलामा राखेको पाइएको छ । उनीहरूले बिक्री गर्न लैजाँदा मह, महको चाका र मरेका मौरी एउटै भाँडोमा मिसाएर लैजाने गरेका छन् । महका चाकाहरू गुटका खाएर थुकेको बाल्टीमा पनि राखिएको भेटिएको छ । कोठा भाडामा लिएर मह बिक्रेता बसेका होटेलमा प्रहरीले खानतलासी सुरु गरेपछि केही जना भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।

वर्षेनी यो सिजनमा नक्कली महको बिगबिगी हुने भएकाले मौरी पालक किसानहरूले गरेको निगरानीका आधारमा उनीहरू पक्राउ परेका हुन् । मङ्सिर १५ गते मह बेच्दै लम्कीचुहा नगरपालिका पुगेका विक्रेतालाई पछ्याउँदै गर्दा टीकापुर बसपार्कमा ठुलो मात्रामा नक्कली मह राखेको फेला पारेपछि प्रहरीलाई जानकारी गराइएको मौरी पालक किसान प्रदीप न्यौपानेले बताए ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकीले मह बिक्रीमा संलग्न १३ जनालाई पक्राउ गरी उनीहरूको साथमा रहेको मह पनि बरामद गरी परिमाण यकिन गर्न लागिएको र जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार कारबाही अघि बढाउने बताए।

मह बिक्रेतामध्येका एक गुलाबले मह सक्कली भएको र आफूहरूले तुलसीपुर, नेपालगन्ज र टीकापुर आसपासका गाउँहरूबाट सङ्कलन गरेर ल्याएको दाबी गरेका छन् ।


क्याटेगोरी : जनमञ्च, समाचार
ट्याग : #honey

प्रतिक्रिया


ताजा अपडेट