ग्रामथानमा माओवादीको जित : काँग्रेसबाट आएका उम्मेदवारले दिलाए राहत
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेसबाट केही महिनाअघि मात्र माओवादी केन्द्र प्रवेश गरेका उम्मेदवार हुन् नमो नारायण माझी । स्थानीय तहको उपनिर्वाचनमा माझीले अध्यक्ष पदमा जित हासिल गरेका छन् । यो जित माओवादी केन्द्रका लागि ठूलो राहतका रूपमा आएको छ, विशेषगरी यो चुनावमा पार्टीलाई अन्यत्र निराशाजनक परिणाम भोग्नुपरेका बेलामा ।
ग्रामथानमा थारू समुदायको लगभग ९० प्रतिशत बसोबास छ, जसले निर्वाचनको परिणाममा ठूलो भूमिका खेलेको मानिन्छ । यस क्षेत्रमा तीन पटक संघीय सांसद बनेका माओवादीका केन्द्रीय नेता अमनलाल मोदीको प्रभावले माओवादी केन्द्रका उम्मेदवारलाई जित दिलाउन महत्वपूर्ण योगदान गरेको बताइएको छ ।
माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर पदमा जित हात पारेको छ । यसअघि नेकाले यहाँ जित हासिल गरेको थियो । यी नतिजाले माओवादी केन्द्रका कार्यकर्तामा उत्साह थपेको छ । ग्रामथानमा माओवादीका अध्यक्ष उम्मेदवारले नेपाली कांग्रेसको एक हिस्सा मतदाताको समेत समर्थनबाट जित निकालेका हुन् ।
ग्रामथानका अध्यक्ष विजेता उम्मेदवारले आफ्नो राजनीतिक यात्रा नेबि संघबाट सुरू गरेका थिए । २०५४ सालमा लखन्तरी गाविसको अध्यक्षमा नेपाली कांग्रेसबाट जितेका थिए । केही समय विजय गच्छदारको पार्टीमा उनी सक्रिय रहे । विजय गच्छदारसँगै नेपाली कांग्रेस प्रवेश गरेका उनी केही महिनाअघि मात्र माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
यसअघि २०७९ सालमा कांग्रेसले ग्रामथानको एउटा वडामा समेत उम्मेदवार नदिएपछि उनले वडामा बागी उम्मेदवारी दिएका थिए । उनी वडामा नै पराजय भोगेका थिए । अहिले भने प्रभावशाली नेता अमनलाल मोदीको सहयोग र माओवादीको संगठनात्मक रणनीतिले उनीलाई अध्यक्ष पदमा विजयी बनाएको हो ।
ग्रामथानको परिणाम माओवादी केन्द्रका लागि रणनीतिक रूपमा महत्वपूर्ण छ । खासगरी, थारू बहुल क्षेत्रहरूमा माओवादीको प्रभाव बलियो बनाउन यो जितले ठूलो भूमिका खेल्ने देखिन्छ । काँग्रेसका पूर्व नेता हुँदै माओवादीमा प्रवेश गरेका उम्मेदवारले यो जितमार्फत माओवादीको जनाधार विस्तारमा सकारात्मक संकेत दिएका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया