Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

पुथा उत्तरगंगाको उपाध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी


रुकुम पूर्व, १७ मंसिर । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी भएको छ । निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छिन् । नरपुराले ३ हजार ६ सय २७ मत ल्याएकी छिन् ।

कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १ सय २८ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार तुलाचन एमालेको महिला संगठनकी केन्द्रीय सदस्य हुन् । एमाले र कांग्रेसबीच गठबन्धन भएपछि एमालेकी नेता तुलाचन कांग्र‍ेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी हुन् ।

पालिकाभरी कुल ११ हजार १ सय ८० मतदाता रहेकोमा ५ हजार ९ सय ३१ खसेकोमा ५ हजार ७ सय ५५ मत सदर हुँदा १ सय ७६ मत बदर भएको छ । गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा यसअघि माओवादी केन्द्रकै तर्फबाट उम्मेदवार भएका पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए । यसपल्टको उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचनलाई र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार बनाएको थियो ।

वडाध्यक्ष पदमा भने उम्मेदवारी दिएका एमाले र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि यसअघि नै माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन् ।


क्याटेगोरी : पालिका, राजनीति

प्रतिक्रिया


ताजा अपडेट