माओले सोध्लान् नि खोइ माओवादी भन्लान् …
चीनमा जनवादी क्रान्ति पूरा भएपछिका वर्षहरुमा चिनियाँ कम्युनिस्ट पार्टीगत तहमा चिनियाँ जनक्रान्तिका प्रमुख नेता र प्रणेता अध्यक्ष माओत्सेतुङद्वारा उक्त क्रान्तिलाई जीवन्तता दिन प्रतिपादन गरिएको सिद्धान्तलाई ‘माओवाद’ नामकरण गर्ने÷नगर्ने भन्ने विषय निकै व्यापकरुपमा छलफल भएको थियो । यो बहसकै विषय बनेको थियो । अन्ततः स्वयम् माओले नै आफूले चिनियाँ जनक्रान्तिलाई केन्द्रविन्दुमा राखी तयार गरेको सिद्धान्तलाई माओवाद नभनी माओ विचारधारा (माओ थट) भन्न र यस विचारधाराको मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद र त्यसपछि लेनिनवादलाई लिन निर्देशन दिएका थिए । त्यसपछि चीनद्वारा प्रकाशित प्रत्येक अभिलेख ‘माओका संकलित रचनाहरु’ मा पनि माओ विचारधारा नै उल्लेख गरियो । अहिले चीनको इतिहासमा माओवाद नामको कुनै ‘वाद’ छैन । विश्वमै माओवादको अस्तित्व कहीँ पनि छैन बरु माओले माक्र्सवादलाई चिनियाँ कृषि क्रान्तिसँग जोडेर तयार गरेको ‘नौलो जनवाद’ चीनका सन्दर्भमा बढी उपयोगी बन्न पुगेको छ ।
माओले चिनियाँ जनक्रान्तिसँग निकटतमरुपमा अनुभवमा आधारित रही आफैँंले तयार गरेको क्रान्तिसम्बन्धी सिद्धान्तलाई किन ‘वाद’ का रुपमा प्रतिपादन गर्न अस्वीकार गरे ? भन्ने प्रश्नको उत्तर जटिल छ । अनुमान मात्र के गर्न सकिन्छ भने कुनै विचारलाई ‘वाद’ को रुप दिन त्यसलाई दार्शनिक चिन्तनले आधार प्रदान गर्नुपर्छ र माक्र्सवाद र लेनिनवाद जस्ता दार्शनिक वादहरुलाई आफ्नो विचारको आधार मानिसकेपछि उनका निम्ति ‘माओवाद’ नामको अर्काे वादको औचित्य रहेन । माओ विचारधारा चीनको आफ्नै प्रकारको कृषि क्रान्तिको दिशानिर्देशक सिद्धान्त हुनाले यसको महानता चीनमा निर्विवादरुपमा स्थापित हुन पुग्यो । यसैले अध्यक्ष माओलाई चिनियाँ जनताको प्रत्येक पुस्ताले प्रेरक व्यक्तित्वका रुपमा श्रद्धा गर्दै आएको छ । त्यसोत माओलाई विश्वका कम्युनिष्टहरुले पनि श्रद्धापूर्वक सम्मान गर्ने गर्छन् ।
नेपालमा माओवादी जनयुद्ध समाप्त भई त्यस पार्टीले संसदवादी धारमा प्रवेश गरेको दुई दशक पूरा हुनै लागेको छ । यसबीचमा देशको आर्थिक स्थिति दिनानुदिन खस्किँदो छ । माओको आदर्शमा हिँड्न प्रतिबद्ध भनिएको ‘माओवादी’ पार्टी धेरै चोइटामा टुक्रिएर लथालिङ्ग बनेको छ । अहिले ती टुक्रा जोड्ने प्रयासको चर्चा, वार्ता, र प्रयासहरु पनि चलेका छन् । त्यसका लागि नेताहरुको आचरण र कार्यशैली पारदर्शी हुन जरुरी छ । अहिलेकै जस्तो भ्रष्ट, कमिसनखोर, गुण्डागर्दी शैलीले माओवाद उँभो लाग्छ भन्नु जनतालाई छरिएको भ्रम बाहेक अरु केही होइन ।
चीनमा जनवादी क्रान्ति पूरा भएपछि माओले आफूलाई शासन सत्ताभन्दा माथि राखेर समग्र चीन र चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्षका रूपमा मृत्युपर्यन्त नेतृत्व प्रदान गरिरहे । उनलाई सत्तामोहले छोएन न त सर्वाेच्च नेतृत्व पदको उन्मादले छोयो । विश्वका कैयन् मुलुकका राष्ट्र प्रमुख र ठूला नेताहरु चिनियाँ जनक्रान्ति जस्तो ऐतिहासिक अद्भूत क्रान्तिको नेतृत्व सम्पन्न गर्ने महान् नेता माओलाई भेट्न लालायित रहन्थे । तर माओलाई भने विदेश भ्रमणको लालसाले कहिल्यै छोएन । चीनमा जनवाद स्थापना भएका सुरुवाती वर्षमा उनले जम्मा एक पटक स्टालिनको नेतृत्वमा रहेको सोभियत संघको निमन्त्रणामा रूस भ्रमण गरे । त्यसबाहेक माओले विदेश भ्रमण गरेको घटना चीनको इतिहासमै पाइँदैन ।
माओ प्रथमतः विशाल चीन र त्यहाँका जनताका अध्यक्ष थिए । यसैले उनले आफ्ना व्यक्तिगत आकाङ्क्षा मारेर समग्र चीनका निम्ति आफूलाई समर्पित गर्ने व्यक्तित्व निर्माण गरेका थिए उनको पहिरन हरियो रङको बर्दी, रातो तारा भएको क्याप थियो । सार्वजनिक समारोह र विदेशी पाहुनाहरूसँगको भेटघाटका विशेष अवसरमा मात्र उनी खरानी रङको चिनियाँ शैलीको सुट लगाउने गथे । तत्कालिन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड, मोहन वैद्य (किरण), डा. बाबुराम भट्टराई, रामबहादुर थापा (बादल), वर्षमान पुन लगायतका नेताहरुले १० वर्षे सशस्त्र यु्द्ध (जनयुद्ध) अन्त्य गरेर वृहत शान्ति प्रकृया मार्फत खुला राजनीतिमा आउँदा माओकै पहिरनको सिको गरेर त्यस्तै खरानी रंगका कपडा लगाएका थिए ।
विश्वमै ‘माओवाद’ नामको वादको अन्त्य भएपछि नेपालका एकथरी कम्युनिस्टहरुले पार्टीको नाममा ‘माओवादी’ को फुर्काे गाँस्नुमा के औचित्य देखेका हुन् त्यो अझसम्म स्पष्ट हुन सकेको छैन । हुन त यसअघि माओवादीको केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तन गर्नेसम्मको बहस उठान भएको थियो । तर यसबारे केही टुंगो लाग्न सकेको छैन । आफूहरु संसदमा सबै भन्दा ठूलो दल बन्नका लागि पार्टीको नाम बाधक बनेको कपिपय नेताहरुको तर्क थियो । पार्टीबाट माओवादी भन्ने फुर्को हटाउन सकेको खण्डमा अन्य गैर–कम्युनिष्टहरु पनि यो पार्टीमा आकर्षित हुन सक्छन् भन्ने ती नेताहरुको तर्क थियो । यद्यपि ६/७ चिरामा टुक्रिएका त्यसै पार्टीका टुक्राले पनि ‘माओवादी’ शब्दसँगको मोह तोड्न सकेका छैनन् । नाममा पछाडि माओवादी भएका तर व्यवहारमा माओका वैयक्तिक र वैचारिक आदर्शहरुको अनुशरण पार्टीपङ्त्ति र त्यसको नेतृत्व वर्गले सही किसिमले गरेको पाइएको छैन । त्यसो त माक्र्स र लेनिनको नाममा पार्टी खोलेर तिनका आदर्श र व्यवहारको प्रतिकूल आचरण गर्दै आएका आफ्ना अग्रज पार्टीहरुभन्दा रत्तिभर फरक नदेखिने ‘माओवादी’ नामका पार्टी पसलहरु ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ भनी आफैंद्वारा आरोपित पार्टीभन्दा एक इन्च मात्र पनि माथि उठ्न नसक्नु विडम्बना नै हो ।
नेपालमा माओवादी जनयुद्ध समाप्त भई त्यस पार्टीले संसदवादी धारमा प्रवेश गरेको दुई दशक पूरा हुनै लागेको छ । यसबीचमा देशको आर्थिक स्थिति दिनानुदिन खस्किँदो छ । माओको आदर्शमा हिँड्न प्रतिबद्ध भनिएको ‘माओवादी’ पार्टी धेरै चोइटामा टुक्रिएर लथालिङ्ग बनेको छ । अहिले ती टुक्रा जोड्ने प्रयासको चर्चा, वार्ता, र प्रयासहरु पनि चलेका छन् । त्यसका लागि नेताहरुको आचरण र कार्यशैली पारदर्शी हुन जरुरी छ । अहिलेकै जस्तो भ्रष्ट, कमिसनखोर, गुण्डागर्दी शैलीले माओवाद उँभो लाग्छ भन्नु जनतालाई छरिएको भ्रम बाहेक अरु केही होइन ।
क्याटेगोरी : जनमञ्च, बिचार, राजनीति
प्रतिक्रिया