बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता सिलसिला को हुन् ?
काठमाडौं । पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उनले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाइन् । बीबीसीले यो सूची मङ्गलवार सार्वजनिक गरे पनि त्यसबारे एक महिनाअघि नै आचार्यलाई सूचित गरेको थियो ।
नोबेल पुरस्कार विजेतासहित विश्वभरका सय प्रभावकारी महिलाको सूचीमा परेपछि आचार्यलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । उनले भनिन्, ‘मेलै प्रकृति र वातावरणको मुद्दामा निरन्तर गरिरहेको कामलाई समाजले ‘रिकोग्नाइज’ गर्दा यस क्षेत्रमा अझै दृढ भएर लाग्न हौसला मिलेको छ ।’
बाग्लुङकी आचार्यलाई नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी ‘अभनी भेन्चर्स’ नामको संस्था चलाएर सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीले विश्वभरबाट विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरिरहेका सय प्रेरक र प्रभावशाली महिलाको सूची मङ्गलवार सार्वजनिक गरेको थियो ।
‘यसबाट नेपालले झेलिरहेको वातावरणीय समस्याको पहिचान र उजागर गर्न थप मद्दत पुग्नेछ ।’, उहाँले भन्नुभयो, ‘मानिसको कम प्राथमिकतामा परिरहेको वातावरणको मुद्दामा संवेदनशील हुन सम्बद्ध सबै पक्षलाई प्रेरित गरेको छ ।’ कठिन परिस्थितिमा पनि विचलित नभई पर्यावरणको क्षेत्रमा आफूले गरेको कामको सम्मान भएकामा उनले खुशी व्यक्त गरिन्। ‘यो उपलब्धि नेपालकै लागि गौरवको विषय हो, नेपालको पर्यावरणीय मुद्दालाई विश्वमञ्चमा स्थापित गर्न यसले सघाउ पुर्याउनेछ’, आचार्यले भनिन्, ‘वातावरण संरक्षणका क्षेत्रमा नीतिगत सुधार गर्न सरकारलाई पनि सकारात्मक दबाब पुगेको छ ।’
चिकित्सा विषय अध्ययनका लागि छात्रवृत्तिमा नाम निक्ले पनि आचार्यले पछि वातावरण विज्ञान रोजेकी थिइन् । काठमाडौं विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकसम्म पढ्नुभएकी आचार्यले नर्वेबाट ‘बायो–डाइभर्सिटी इन्भाइरोमेन्ट साइन्स’ मा स्नातकोत्तर गर्की थिइन् । स्नातकोत्तर अध्ययनका लागि उनले नेपाल र नर्बेजियन सरकारबाट छात्रवृत्ति पाएकी थिइन् ।
स्नातकोत्तर सकेर नेपाल फर्केपछि उनले फोहरमैला व्यवस्थापनमा काम सुरु गरिन्। प्लास्टिक झोलाको प्रयोगलाई निरूत्साहित गर्न आचार्यले सन् २०१४ मा ‘धन्यवाद १ म आफैँ झोला बोक्छु’ अभियानको नेतृत्व गरेकी थिइन् ।
पर्यावरण अभियन्ताका रूपमा उनले नेपालका धेरै ठाउँमा काम गरिसकेकी छिन् । आचार्यले केही वर्षअघि स्थापना गर्नुभएको ‘अभनी भेन्चर्स’ ले महिला र सीमान्तकृत समुदायका व्यक्तिलाई रोजगारी दिँदै आएको छ ।
फोहरको पुनःप्रयोगमार्फत उद्यमशीलता र दिगो विकासमा काम गर्दै आएकी आचार्यले जलवायु परिवर्तनको असर न्यूनीकरणमा नीतिगत तहमै रहेर काम गर्ने लक्ष्य रहेको सुनाइन्।
‘फोहरमैला व्यवस्थापनमा स्थानीय तहहरूसँग मिलेर नमूनायोग्न काम गर्ने योजना छ’, उनले भनिन्, ‘पर्यावरण उद्यममार्फत महिला र सीमान्तकृत समुदायलाई आयआर्जनसँग जोड्ने अभियान पनि निरन्तर चलिरहन्छ ।’ उनले फोहरमुक्त समाज र देश निर्माणको अभियानमा जोडिन सबैलाई आग्रह गरिन्।
हरेक घरबाटै फोहर व्यवस्थापनको काम शुरू गर्नुपर्ने भन्दै पर्यावरण जोगाउन सबैले हातेमालो गर्नुपर्ने आचार्यको भनाइ छ । उनी ‘अभनी भेन्जर्स’को सह–संस्थापक र निर्देशक छिन्। पर्यावरण उद्यमी आचार्य हिमालहरूलाई प्रदुषणमुक्त बनाउने अभियानसमेत सक्रिय रहँदै आएकी छिन् ।
आगाामी दिनमा हिमाल र पानीका स्रोत संरक्षणको मुद्दामा केन्द्रित भएर काम गर्ने सोच बनाएको उनको भनाइ छ । आचार्यले आरोहीहरूले हिमालमा छाडेको फोहर सङ्कलन गरी त्यसको प्रशोधनमार्फत विभिन्न सामग्री उत्पादन गरी आदिवासी महिलालाई उद्यमशीलतासँग जोडेकी छिन् ।
सरकारले देशभर रहेको प्लास्टिकको मात्रा र व्यवस्थापनबारे गरिरहेको अध्ययनमासमेत आचार्य नेतृत्वदायी भूमिकामा छिन् । आचार्यले प्लास्टिकमुक्त अभियानलाई निरन्तरता दिने जनाए।
उनी नेपाल खबरले गत वर्ष सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलाको सूचीमा समेत परेकी थिइन् । हिमाल सफाइ अभियानमा पुर्याएको योगदानबापत नेपाली सेनाबाट पनि उनी सम्मानित भईसकेकी छिन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया