Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

नेपाल पत्रकार महासंघमा रोचक भीडन्त : गठबन्धनमा भाँडभैलो र स्वतन्त्र उम्मेदवारीको चुनौती


काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी मंसिर २८ गते हुने निर्वाचनको लागि केन्द्रीय पदाधिकारी र सदस्यका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । पटकपटक स्थगित हुँदै आएको यो निर्वाचनले महासंघभित्रको राजनीतिक ध्रुवीकरणलाई झल्काएको छ । गठबन्धनका नाममा दलगत प्रभाव देखिए पनि स्वतन्त्र पत्रकारहरूको उम्मेदवारीले यो चुनावलाई झन् चासोको विषय बनाएको छ ।

प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले साझा प्यानल घोषणा गरे पनि आन्तरिक असन्तुष्टिका कारण दुवै संगठनभित्र विद्रोह देखिएको छ । प्रेस युनियनमा विद्रोही उम्मेदवारी देखा परेको छ भने प्रेस चौतारी र प्रेस सेण्टरका प्रभावशाली पत्रकारहरूले संगठनको आधिकारिक उम्मेदवारीलाई चुनौती दिएका छन् । समाजवादी प्रेस संगठनमा पनि संगठनकै निर्देशनविपरीत उम्मेदवारी परेको छ ।

महासंघको अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दिएका छन् । साझा प्यानलकी उम्मेदवार निर्मला शर्मा, स्वतन्त्र उम्मेदवार लालसिंह (एल.एस. लामा, देवीप्रसाद सापकोटा, रमेश विष्ट र कमल गिरी उम्मेदवार बनेका छन् । प्रेस सेण्टरका कमल गिरीले अन्ततः रमेश विष्टलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन सक्ने संकेत गरेका छन् । यस्तो अवस्थामा निर्मला शर्मा र रमेश विष्टका बीचमा कडा प्रतिस्पर्धा हुनेछ । एल.एस. र सापकोटाको राम्रै प्रभाव देखिन्छ । चामत्कारिक ढंगले उनीहरूको पक्षमा परिस्थिति विकास हुन पनि सक्छ ।

वरिष्ठ उपाध्यक्षमा दामोदर दवाडी, रोशन पुरी, गोविन्द चौलागाईं र दीपक आचार्यले उम्मेदवारी दिएका छन् । यस पदमा दामोदर दवाडी र रोशन पुरीका बीचमा प्रतिस्पर्धा हुने सम्भावना छ । आचार्य चौतारी र युनियनका आधिकारिक उम्मेदवार भए पनि उनी क्रियाशील पत्रकार नभएकाले लादेको उम्मेदवार भन्दै युनियनमा नै ठूलो विद्रोह देखिएको छ ।

महासचिवमा श्रमजीवी पत्रकार जन्मदेव जैसी र प्रेस युनियन, चौतारीका साझा उम्मेदवार रामप्रसाद दाहालको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अन्य दुई उम्मेदवार प्रकाश थापा र लेखनाथ न्यौपानेले अन्तिमसम्म् उम्मेदवारी फिर्ता लिन सक्ने आँकलन गरिएको छ । किनभने उनीहरूलाई आआफ्ना संगठनबाट चर्को दवाव परेको छ ।

महिला उपाध्यक्षमा गंगा पौडेल र नितु पण्डितबीच प्रतिस्पर्धा हुनेछ ।

आदिवासी जनजाति सचिवस्मा टीकाराम प्रधान र सविन प्रियसनबीच प्रतिस्पर्धा हुने देखिन्छ । काठमाडौंमा लामो समयदेखि मूलधारको पत्रकारिता गरेका र महासंघको केन्द्रीय सदस्य भएकाले प्रधानले जित्ने सम्भावना बढी छ ।

मधेसी सचिवमा प्रवीण चौधरी, अशोक तिवारी र सिर्जन झाबीच प्रतिस्पर्धा रहनेछ । कायस्थ पत्रकारहरुको केन्द्रीय अध्यक्ष समेत रहेका, काठमाडौं र मधेसमा निकै स्थापित प्रवीणको बलियो सम्भावना छ ।

दलित सचिवमा सन्तोष बराइलीको जित्ने सम्भावना बढी देखिएको छ ।

पाँच जनाका लागि खुला सदस्यमा १२ जनाले उम्मेदवारी दिएका छन् । स्थापित पत्रकारहरूमध्ये फडिन्द्र फुयालको सम्भावना लगभग निश्चित छ । दामोदर खनाल र केशव भुलका उम्मेदवारीको पनि चर्चामै छ ।

यो निर्वाचनमा दलगत गठबन्धनको प्रभाव त देखिएको छ, तर स्वतन्त्र रूपमा क्रियाशील पत्रकारहरूले मतदाताको समर्थन पाउने अपेक्षा गरिएको छ । यो निर्वाचन महासंघको नेतृत्वमा राजनीतिक हस्तक्षेप घटाउने र स्वतन्त्र पत्रकारितालाई प्रोत्साहन गर्ने दिशामा महत्वपूर्ण साबित हुन सक्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट