पत्रकार महासंघका निर्वाचनमा स्वतन्त्र र स्वविवेकीय मतदाता काठमाडौंमा धेरै : ईश्वरी वाग्ले
काठमाडौं । नेपाल पत्रकार महासंघका काठमाडौं शाखाका पूर्वअध्यक्ष र उपत्यकाका केन्द्रीय सदस्य भइसकेका प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार ईश्वरी वाग्लेले यसपटकको महासंघ निर्वाचनमा स्वतन्त्र र स्वविवेक प्रयोग गर्ने मतदाताको भूमिका निर्णायक हुने बताएका छन् ।
वाग्लेका अनुसार काठमाडौं जिल्लाका मतदाताहरू, विशेषगरी प्रतिष्ठान र एसोसियट सदस्यहरू, यस पटक व्यक्ति केन्द्रित भएर सही निर्णय लिने मनस्थितिमा देखिएका छन् । वाग्ले भन्छन्, ‘यसपटक मतदाताहरूले कुनै पार्टी वा संगठनको निर्देशनभन्दा पनि व्यक्तिको भूमिका र क्षमतालाई प्राथमिकता दिएका छन् । विगतको तुलनामा यो प्रवृत्ति धेरै देखिएको छ।’
वाग्लेले काठमाडौं उपत्यकाका मतदाताहरूले नेपाल पत्रकार महासंघको अध्यक्षमा रमेश विष्ट, वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महासचिवमा जन्मदेव जैशी र कोषाध्यक्षमा रामकृष्ण अधिकारीलाई अत्याधिक मत दिने सम्भावना रहेको बताए । “यो निर्णय व्यक्तिगत अनुभव र मूल्यांकनको आधारमा गर्नेछन्,” वाग्लेले थपे ।
विगतमा पार्टी र संगठनतिर अति झुकेका, पत्रकारिताभन्दा राजनीतिक स्वार्थमा सक्रिय, नाम र दामका लागि मरिमेट्ने कारण महासंघ कोमामा गएको वाग्लेले उल्लेख गरे । “अब महासंघको पुरानो छविलाई पुनःस्थापना गर्न स्वतन्त्र, स्वविवेकीय अधिकारको उपयोग गरेर सही नेतृत्व चयन गर्नुपर्ने अधिकांश पत्रकारहरुको मनस्थिति रहेको छ,” उनले भने।
यसपटकको निर्वाचनले नेपाल पत्रकार महासंघलाई पुनःजीवित गर्दै यसको मौलिकता फर्काउने अपेक्षा गरिएको छ । महासंघको भविष्य र पत्रकारिताको गरिमालाई बढाउनका लागि वाग्लेले भने जस्तै पार्टी र संगठनभन्दा माथि उठेर क्रियाशील, इमान्दार उम्मेदवारलाई जिताउन काठमाडौं उपत्यकामा मात्र होइन देशैभरि खुलेर मतदान दिने सम्भावना देखिएको छ ।
यसैबीच प्रेस सेण्टरले रमेश विष्टलाई उठाउने तर प्रदेश र जिल्ला तहबाट प्रेस युनियनबाट विद्रोह गरेर प्रेस सेण्टरका उम्मेदवारलाई मत दिने अवस्था नबनेमा रमेश विष्टलाई मत दिनुको औचित्य नभएको भन्दै जिल्ला जिल्लाबाट प्रेस सेण्टरका कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । यस्तो स्थिति भएमा प्रेस सेण्टरका निकट तर अहिले स्वतन्त्र मोर्चाबाट उम्मेदवारी दिएका देवी प्रसाद सापकोटालाई मत दिनुपर्ने बताएका छन् । स्थापित क्रियाशील पत्रकार योगेश खपांगीलाई एसोसियट सचिव, मधेसी सचिवमा प्रवीण चौधरी, आदिवासी जनजाति सचिवमा टीकाराम प्रधान, खुल्ला केन्द्रीय सदस्यमा फडिन्द्र फुयाललाई मतदान गर्ने भन्दै काठमाडौ उपत्यकामा खुलेर अभियान नै सुरु भइसकेको छ ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया