छैटौँपटक म्याद थप्न रविलाई अदालत उपस्थित गराइयो
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । कास्की जिल्ला अदालतले मंसिर ९ गते दिएको थप १५ दिनको म्याद आज आइतबार सकिँदैछ । उनीमाथि अनुसन्धान नसकिएकाले पुनः म्याद थपका लागि अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान नसकिएकाले फेरि हिरासत बसाईको लागि म्याद थप्न अदालत उपस्थित गराइएको हो । नेपाल प्रहरीले गत कात्तिक २ गते काठमाडौंको बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको थियो ।
यो बीचमा लामिछानेलाई बयानका लागि कास्की, रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडिया नेटवर्कमा लगेको र अपचलन गरेको आरोप रविमाथि छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया