Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

नर्सिङ संघको आउँदो निर्वाचनमा कसले मार्ला बाजी ?


काठमाडौं । नेपाली नर्सहरूको साझा संस्था नेपाल नर्सिङ संघको आगामी मंसिर २८ गते हुने निर्वाचनको लागि राजनीति सरगर्मी बढेको छ । नेपाल नर्सिङ संघको २० औँ केन्द्रिय कार्यसमितिको निर्वाचनको मिति नजिकिएसँगै नर्सहरू चुनावी प्रचारप्रसारमा जुटेका छन् । चुनावका लागि प्रजातान्त्रिक र प्रगतिशील दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । अहिले जिल्लादेखि केन्द्रका नर्सहरू आ–आफ्नो पक्षमा मत माग्न दौडधुप गरिरहेका छन् ।

देशको राष्ट्रिय राजनीतिमा सरकारका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमाले समर्थित नर्सहरु नेपाल नर्सिङ संघमा छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा भिडेका छन् । त्यतिमात्र होइन सरकारको नेतृत्व गरेको नेकपा एमालेले नर्सिङ संघको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) संघ गठबन्धन गरेको छ भने नेपाली कांग्रेसले माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीसँग मिलेर चुनावी गठबन्धन गरेर अगाडि बढेको छ । निर्वाचनको लागि नर्सिङ क्षेत्रमा गरिएको गठबन्धन राष्ट्रिय गठबन्धनभन्दा फरक देखिएकोले पनि निर्वाचन नजिकिएसँगै यो रोजक बन्दै गएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट बनेको प्रगतिशील समूहबाट चन्द्रकला शर्माको प्यालन चुनावी मैदानमा खडा छ ।

नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट नर्सहरूको संयुक्त नर्सिङ पेशागत प्यानल गंगा थापाको अध्यक्षतामा समूह बनाएर चुनावी मैदानमा अगाडि बढेको छ । दुवै समूहलाई टक्कर दिदैँ एमाले निकट बसन्ती थापा अध्यक्षमा उम्मेदारी दिदंै चुनावी प्रतिस्पर्धामा रहेकाले यो पटकको चुनाव पेशागत प्यानल गंगा थापाले जित्ने आंकलन गरिएको छ ।

गंगा थापा नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट नर्सहरूको संयुक्त नर्सिङ पेशागत प्यानलबाट अध्यक्ष पदकी उम्मेद्वार हुन् । उनी त्रिवि शिक्षण अस्पताल नर्सिङ अफिसरको रुपमा कार्यरत छिन् । ३६ वर्षदेखि नर्सिङ पेशमा आवद्ध उनी अहिले पनि यही पेशामा आवद्ध रहेकी छिन ।

उनी यो भन्दा अघिको कार्यकालमा संघको उपाध्यक्षमा पदमा थिइन् । नेपाली नर्सहरूको समस्या र उनले भोग्दै आएको कुराबारे लामो समयदेखि जानकार उनले अध्यक्षमा निर्वाचित भइसकेपछि यो विषयमा आवाज उठाउने पहिलो काम भएको बताएकी छन् । नर्सहरूको पेशागत सुरक्षा सुनिश्चता गर्नेदेखि यो पेशालाई गुणस्तर, आधुनिक तरिकाले लैजाने र देशभर विस्तार गर्ने उनको योजना छ ।

चन्द्रकला शर्मा संयुक्त प्रगतिशील समूह तर्फबाट अध्यक्ष पदको उम्मेद्वार हुन् । ३३ वर्षदेखि यही क्षेत्रमा कार्यरत उनी हाल उनी सरकारी सेवाबाट अवकाश प्राप्त प्रोफेसर हुन् । उनले महाराजगञ्ज नर्सिङ क्याम्पसको सहायक प्रमुखको रुपमा पनि काम गरेकी थिइन् ।
२०७५ सालमा नेपाल नर्सिङ परिषद्को अध्यक्ष समेत भइसकेकी उनी अहिले नर्सहरूले पाइरहेको समस्या समाधान गर्न अध्यक्षको पदका लागि चुनावमा होमिएको बताउँदै आएकी छन् ।

बसन्ती थापा नेपाल नर्सिङ संघको अध्यक्ष पदको स्वतन्त्र उम्मेद्वार हुन् । सरकारी अस्पताल र कलेजमा विगत ३८ वर्षदेखि कार्यरत उनी अहिले अवकाश प्राप्त प्राध्यापक हुन् । करिब ४ दशकदेखि स्वास्थ्य क्षेत्रमा आवद्ध उनी स्थापनाको ६३ वर्षसम्म पनि कुनै काम हुन नसकेको बताउँदै अब राजनीतिबाट अलग भएर काम गर्नुपर्नेबेला आएको बताउँछिन ।

प्रगतिशिल प्यानल चन्द्रकला शर्माको प्यानलले २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ भने गंगा थापाको प्यानलले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । दुवैका प्रतिबद्धतामा नर्सहरूलाई नेपाल सरकारले तोके बमोजिमको तलब र सुविधाको व्यवस्था गर्नेदेखि लिएर रात्रिकालीन सेवाको एक दिनको तलब बराबर र सार्वजनिक बिदा तथा चाड पर्व बिदाका दिनहरूमा सेवा गरे बापत यथोचित भत्ताको व्यवस्थाका लागि पहल गर्ने, सुत्केरी भएको २ वर्षसम्म र ५० वर्ष नाघेका नर्सहरूलाई नाइट ड्युटी गर्न नलगाउने नीतिगत व्यवस्थाको लागि पहल गर्नेसम्मका बुँदा रहेका छन् ।

२० मतदान केन्द्र, १५ सय मतदाता

नेपाल नर्सिङ संघ वि.सं. २०१८ सालमा स्थापना भइ नर्सहरूको पक्षमा वकालत गर्दै आएरहेको पेशागत संस्था हो । यो संस्थाले नर्सहरूको पेशागत हकहितवारे आवाज उठाउँदै आएको छ । संघमा आवद्ध १५ हजार पाँच सय सत्ताइस नर्सहरू रहेका छन् । उनीहरूले आफुलाई पायक पर्ने मतदान केन्द्रमा गएर मतदान गर्न सक्ने छन् । त्यसका लागि देशभरका २० ठाउँमा चुनावी मदतान केन्द्र बनाइएको छ । निर्वाचनमा मतदाताले २८ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

झापाको लागि प्रादेशिक अस्पताल भदपुर, मोरङ्गको कोशी अञ्चल अस्पताल, सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धनकुटाको जिल्ला अस्पताल, राजविराजको गजेन्द्र नारायण सिंह अस्पताल, जनकपुरको प्रादेशिक अस्पताल, बिरगञ्जको विरगंज नर्सिङ क्याम्पसमा मतदान केन्द्र राखिएको छ ।

यस्तै चितवनको भरतपुर अस्पताल, काठमाडौंको केन्द्रीय कार्यालय, नेपाल नर्सिङ्ग संघ, लाम्जिपाट भक्तपुरको भक्तपुर अस्पताल, मकवानपुरको हेटौडा अस्पताल मकवानपुर, पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको लुम्बिनी अञ्चल अस्पताल, पाल्पाको जिल्ला अस्पताल, पाल्पा, दाङ्गको दाङ्ग उपक्षेत्रीय अस्पताल, नेपालगञ्जको भेरी अस्पताल, नेपालगंज सुर्खेतको प्रादेशिक अस्पताल, जुम्लाका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, रोल्पाको जिल्ला अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा मतदान केन्द्र रहेका छन् । यी मतादान केन्द्रमा पायक पर्ने नर्सहरूले मतदान गर्ने छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट