Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

नेपाल पत्रकार महासंघको संकटः सिण्डिकेटधारी स्वार्थको असर


योगेश खपाङ्गी

नेपाल पत्रकार महासंघले केही वर्ष यतादेखि गम्भीर संकटको सामना गरिरहेको छ । यो संकटको जरो महासंघमा गहिरो रूपमा बसेको सिण्डिकेटधारी स्वार्थ समूह र पुरानै घिसेपिटे संरचनात्मक प्रणालीमा रहेको छ । नयाँ प्रविधि, नागरिक पत्रकारिताको विकास र पत्रकारिताको वैश्विक स्तरको प्रतिस्पर्धात्मक वातावरणमा महासंघले आफ्नो भूमिका पुनः परिभाषित गर्न सकेको छैन । यसै कारण महासंघ कोमामा पुगेकाे छ ।

महासंघको संरचनात्मक समस्या

नेपाल पत्रकार महासंघको वर्तमान संरचना पुरानो राजनीतिक प्रभावबाट पूरै ग्रसित छ । महासंघमा नेतृत्वको महत्व केवल राजनीतिक पार्टीका नेताहरूको वरिपरि घुम्ने, गुटबन्दी गर्ने र पार्टीको भातृ संगठन झैँ चलाउने प्रवृत्तिले ग्रसित छ । हिजोका नेतृत्वहरू विदेश भ्रमण गर्ने, व्यक्तिगत लाभ लिने र महासंघको उद्देश्यलाई बिर्सने काममा व्यस्त देखिए । यस्तो अवस्थामा महासंघले श्रमजीवी, स्वरोजगारमूलक पत्रकारहरूको वास्तविक मुद्दा र हितका लागि काम गर्न सकेको छैन ।

महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा समस्या समाधान हुने आशा गरिएको थियो । तर, उहाँको नेतृत्व सिण्डिकेटधारी स्वार्थ समूहको दबाबबाट मुक्त हुन नसक्दा, उहाँ पनि त्यसैमा रमाउँदा असफल साबित भयो । यो असफलता एक व्यक्तिको होइन, यो पूरै प्रणाली र सिण्डिकेटधारी गुटहरूको असफलताको परिणाम हो ।

श्रमजीवी पत्रकारहरूको चुनौती

नेपाली पत्रकारितामा श्रमजीवी पत्रकारहरूले अपमान, न्यूनतम पारिश्रमिक र भौतिक असुरक्षालाई सामना गर्दै पनि आफ्नो पेशागत इमान्दारिता कायम राखेका छन् । तर, महासंघभित्र सिण्डिकेटधारी समूहले तिनका मुद्दाहरूलाई नजरअन्दाज गरेको छ । गुटबन्दीको राजनीतिले श्रमजीवी पत्रकारहरूको सम्मानित भविष्य निर्माणको लागि आवश्यक सुधार प्रयासलाई रोकिदिएको छ ।

अबको आवश्यकता भनेको श्रमजीवी, स्वरोजगारमूलक पत्रकारहरूको सक्रियता र दबाब हो । महासंघको आगामी नेतृत्वले श्रमजीवी पत्रकारहरूको आवाजलाई प्राथमिकतामा राखेर नीति र संरचनागत सुधार गर्न सक्नुपर्छ । अन्यथा कोमामा पुगेको महासंघ विघटनमा जान्छ ।

नीतिगत सुधारको खाँचो

महासंघको वर्तमान संरचनालाई बदल्दै नयाँ नीति लागू गर्नु अत्यावश्यक छ । बदलिदो समयसामु उभिएर महासंघले यी सुधारहरू लागू गर्नुपर्छः

स्वतन्त्रता र निष्पक्षता: महासंघलाई कुनै राजनीतिक दलको प्रभावबाट मुक्त राख्नुपर्छ । महासंघको नेतृत्व श्रमजीवी पत्रकारहरू, स्वरोजगारमूलक मिडियाहरुको मुद्दामा आधारित हुनुपर्छ । पार्टीगत स्वार्थमा होइन ।

नयाँ प्रविधि र प्रशिक्षणः एआई र नयाँ प्रविधिको विकासका कारण पत्रकारितामा आएका चुनौतीहरूलाई सामना गर्न महासंघले पत्रकारहरूलाई नयाँ सीप र प्रशिक्षण उपलब्ध गराउनुपर्छ ।

आर्थिक पारदर्शिता: महासंघभित्र वित्तीय पारदर्शिता कायम गर्दै आर्थिक अनियमितताका दोषीलाई कारबाही गर्नुपर्छ ।

सिन्डिकेटविरोधी कदम: महासंघलाई सिण्डिकेटधारीहरूको नियन्त्रणबाट मुक्त गराउन ठोस नीतिहरू लागू गर्नुपर्छ ।

नेतृत्व चयनमा विवेकशील निर्णय

महासंघको भविष्य अब मतदाताहरूको विवेकमा निर्भर छ । पत्रकारहरूलाई अब पुराना घिसेपिटे नेतृत्वलाई अस्वीकार गरेर परिवर्तनकारी नेतृत्व चयन गर्नुपर्छ । यस्तो नेतृत्वले श्रमजीवी पत्रकारहरूको मुद्दालाई प्राथमिकतामा राख्दै महासंघलाई पुनर्जीवित गर्ने मार्गतर्फ डोर्‍याउन सक्छ ।

वास्तवमा नेपाल पत्रकार महासंघ अहिले अस्तित्वको संकटमा छ । यसलाई पुनःजागरण गर्नका लागि नेतृत्वको परिवर्तन, नीतिगत सुधार र श्रमजीवी पत्रकारहरूको सक्रिय सहभागिता अपरिहार्य छ । सिण्डिकेटधारी स्वार्थ समूहको बर्चस्व अन्त्य गरेर मात्र महासंघले आफ्नो उद्देश्य र गरिमा पुनः प्राप्त गर्न सक्छ । अबको नेतृत्वमा सही निर्णय र जिम्मेवारीको अपेक्षा गरौँ !


क्याटेगोरी : बिचार

प्रतिक्रिया


ताजा अपडेट