Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

स्वरोजगारमूलक र श्रमजीवी पत्रकारले सोध्नैपर्ने प्रश्न: तपाईंले हिजो हाम्रो पक्षमा के गर्नुभयो र अब के गर्नुहुन्छ ?


फडिन्द्र फुयाल

नेपाल पत्रकार महासंघको निर्वाचन अब केही घण्टापछि सुरु हुँदैछ । तर, यो निर्वाचन श्रमजीवी पत्रकार र साना लगानीका स्वरोजगार मिडियाका लागि कति अर्थपूर्ण हुनेछ भन्ने प्रश्न भने अझै बाँकी छ । महासंघमा पटक–पटक नेतृत्व गरिसकेका पदाधिकारीहरू यसपटक पनि उम्मेदवार बनेका छन् । तर, ती पदाधिकारीहरूलाई मतदाताले प्रश्नहरू सोंध्न आवश्यक छ ।

मतदान गर्नुअघि श्रमजीवी पत्रकार र साना लगानीका मिडिया सञ्चालकहरूले उम्मेदवारहरूलाई यी मुख्य प्रश्नहरू अवश्य सोध्नुपर्छः

१. तपाईंले यसअघिको कार्यकालमा के गर्नुभयो ?
पदाधिकारी भइसकेका नेताहरूले श्रमजीवी पत्रकारको स्तरवृद्धि, न्यूनतम ज्यालाको कार्यान्वयन, नियुक्ति पत्र र सामाजिक सुरक्षा कोषजस्ता मुद्दामा के योगदान गर्नुभयो ?

२ यदि केही नै गर्नुभएको छैन भने तपाईंलाई फेरि किन मत दिने त ?

उम्मेदवारहरूले आफूलाई फेरि मतदान गर्नुपर्ने कारण स्पष्ट गर्नुपर्छ । तपाईलाई हामीले फेरि मत दिने भनेको व्यापारी, पार्टीका नेताहरुसँग बार्गेनिङ क्षमता बढाउन, विदेश भ्रमण र व्यक्तिगत लाभका लागि मात्र ?

आमश्रमजीवी र स्वरोजगारमूलक पत्रकारहरूको आर्थिक, सामाजिक र पेशागत उन्नतिका लागि पहिला केही गर्नुभएको छैन भने आफू निकट पार्टी र संगठनका भए पनि मतदान गर्ने होइन । नयाँलाई जिताउन लागि पर्नुपर्छ ।

३ श्रमजीवी पत्रकारका समस्या समाधान गर्न खोज्दा अवरोध भयो कि ?

श्रमजीवी पत्रकारहरूको न्यूनतम ज्याला, सामाजिक सुरक्षा, नियुक्ति पत्र र तलबको बैंकिङ प्रणालीको व्यवस्थापनजस्ता गम्भीर मुद्दामा महासंघले प्रभावकारी पहल गर्न सकेको छैन । कतैबाट अवरोध आएकाले गर्न नसकेको भए प्रष्ट भन्न सक्नुपर्छ । उम्मेदवारहरूले यी विषयलाई प्राथमिकतामा राख्ने वा मात्र गुटबन्दी र व्यक्तिगत स्वार्थको पत्रकारिताको राजनीति गर्ने हो ?

श्रमजीवी पत्रकारका प्रमुख मुद्दाहरू
महासंघको निर्वाचनमा उठ्नुपर्ने तर बारम्बार ओझेलमा पर्ने मुद्दाहरू यी हुन्,

१. नियुक्ति पत्रका समस्याः
अधिकांश श्रमजीवी पत्रकारसँग अझैसम्म औपचारिक नियुक्ति पत्र छैन । यो पेशागत सुरक्षाको गम्भीर मुद्दा हो ।

२. स्तर वर्गीकरणको अभावः
पत्रकारको कार्यक्षेत्र र अनुभवका आधारमा वर्गीकरण गर्ने प्रक्रिया अझै भएको छैन ।

३. सामाजिक सुरक्षा कोषको पहुँचः

श्रमजीवी पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गराउने प्रक्रिया अपूर्ण छ ।

४. न्यूनतम ज्याला र समयसापेक्ष ज्याला वृद्धिको कार्यान्वयनः
सरकारद्वारा तोकिएको न्यूनतम ज्याला धेरै सञ्चारगृहले लागू गरेका छैनन् । समयसापेक्ष ज्याला वृद्धिको व्यवस्था झनै टाढाको विषय छ ।

५. तलबको बैंकिङ प्रणालीः
श्रमजीवी पत्रकारको तलब बैंकिङ प्रणालीमार्फत वितरण गर्ने विषय पनि अझै सुनिश्चित भएको छैन ।

६. पत्रिकाको वर्गीकरणको समस्याः
सरकारी समानुपातिक विज्ञापन वितरण र पत्रिका वर्गीकरणको प्रक्रिया पारदर्शी र न्यायसंगत छैन ।

निर्वाचनमा उठेकामध्ये कुन प्यानलले उठाएको छ यी मुद्दा ?
निर्वाचनमा उठेका पार्टीगत प्यानलहरूले यी मुद्दालाई प्राथमिकता दिएका छैनन् । अधिकांश उम्मेदवारहरू गुटबन्दी, व्यक्तिगत लाभ र सिण्डिकेटप्रति केन्द्रित देखिन्छन् । श्रमजीवी पत्रकारका वास्तविक समस्या समाधान गर्ने प्रतिबद्धता र योजनाको अभावले निर्वाचनप्रति निराशा बढेको बेलामा क्रियाशील श्रमजीवी पत्रकारहरुले यसलाई सूत्रबद्ध गरेर उठाएको छ । क्रियाशील श्रमजीवी पत्रकारहरु यसमा निरन्तर संघर्षरत छन् ।

श्रमजीवी पत्रकारको सोच्नुपर्ने
श्रमजीवी पत्रकारहरूले यसपटक गम्भीर भएर मतदान गर्नु आवश्यक छ । उनीहरूले पार्टी, गुटबन्दीबाट बाहिर गएर स्वतन्त्र उम्मेदवारहरू, स्वतन्त्र साझा क्रियाशील श्रमजीवी पत्रकारका वास्तविक मुद्दा उठाउने उम्मेदवारलाई मत दिनुपर्छ ।

नेपाल पत्रकार महासंघको निर्वाचन पत्रकारहरूको भविष्यलाई निर्धारण गर्ने महत्वपूर्ण क्षण हो । यसपटक श्रमजीवी पत्रकार र साना लगानीका स्वरोजगारमूलक मिडियाका सञ्चालकहरूले मताधिकारको सही प्रयोग गरी आफ्नो अधिकारका लागि संघर्ष गर्ने प्रतिबद्धता भएका उम्मेदवारहरूलाई समर्थन गर्नुपर्छ । गुटबन्दी, सिण्डिकेट र व्यक्तिगत स्वार्थले पत्रकारिता क्षेत्रलाई कमजोर बनाउँदै लगेको अवस्थामा निर्वाचनका बेलामा सही निर्णय नै पत्रकार महासंघलाई नयाँ दिशा दिनसक्छ ।

 


क्याटेगोरी : बिचार

प्रतिक्रिया


ताजा अपडेट