Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

एनफिएलमा आज काठमाडौं र पोखरा खेल्दै


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार बिहान हुने २४ औँ खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज खेल्दैछन् । खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

दुवै टोलीको यो छैटौँ खेल हो । दुवै टोलीले यसमध्ये समान २ खेलमा जित र ३ खेलमा हार बेहोरेका छन् । दुवै टोलीले ४ अङ्क बटुल्दै छैटौँ र सातौँ स्थानमा विराजमान छन् ।

पोखराले पछिल्लो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो । त्यो एनपीएलमा खेलिएको पहिलो सुपर ओभर थियो । उता, काठमाडौं भने जनकपुर बोल्ट्ससँग ५ विकेटले स्तब्ध बनेको थियो ।

पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको क्लब हो । पोखरा एभेन्जर्सलाई नेपाल टी–२० क्रिकेट प्रालिले तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो ।

एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महँगोमा बिक्री भएको क्लब पनि हो । पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । पोखरा एभेन्जर्सका प्रमुख प्रशिक्षक राजीव कुमार हुन् ।

काठमाडौं गुर्खाज कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको क्लब हो । कान्तिपुर पब्लिकेसनले काठमाडौं गुर्खाजलाई तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँमा खरिद गरेको हो । काठमाडौं गुर्खाज नाम पनि कान्तिपुर पब्लिकेसनले नै राखेको हो । काठमाडौं गुर्खाजका मार्की खेलाडी भने करण केसी हुन् । काठमाडौं गुर्खाजका प्रमुख प्रशिक्षक वसन्त शाही हुन् ।

पोखराका लागि आन्द्रियस गाउसले सर्वाधिक १८८ रन बनाएका छन् । त्यसतै, दिनेश खरेलले १०९ रन बनाएका छन् । टोलीका लागि विपिन खत्रीले सर्वाधिक ६ विकेट लिएका छन् भने रेमन रिफर र सागर ढकालले ४–४ विकेट हात पारेका छन् ।

यता, काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक ८७ रन बनाएका छन् । त्यसतै, जेरहार्ड इरासमसले ७३ तथा स्टेफन इस्किनाजीले ७२ रन जोडेका छन् । कप्तान करन केसीले सर्वाधिक ८ विकेट तथा इरासमसले ७ विकेट लिएका छन् ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट