स्वास्थ्य खर्चकै कारण अफ्रिकाका १५ करोड मानिस चरम गरिबीमा
स्वास्थ्यसम्बन्धी अत्यधिक खर्चले अफ्रिकाका १५ करोडभन्दा बढी मानिसलाई गरिबीमा धकेलेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । विश्वव्यापी स्वास्थ्य कभरेज दिवसको अवसरमा डब्लुएचओले सार्वजनिक गरेको ‘ट्र्याकिङ फाइनान्सियल प्रोटेक्शन’ प्रतिवेदनमा डब्ल्यूएचओले अफ्रिकाको गुणस्तरीय र उत्पादनशील जीवनलाई स्वास्थ्य खर्चले वञ्चित गरेको जनाएको हो ।
अफ्रिकाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले आवश्यक औषधि र अन्य स्वास्थ्य खर्च गरिबी बढाउने मुख्य कारण रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । स्वास्थ्यसम्बन्धी भुक्तानीहरूले धेरै मानिसलाई खाना, आवास र उपयोगिताहरू जस्ता अन्य आधारभूत आवश्यकताहरूमा कम खर्च गर्न बाध्य पर्ने र जसले उनीहरूको अवस्था अझै बिग्रन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
सन् २००० र सन् २०१९ बीचको अवधिमा आफ्नो घरायसी बजेटको १० प्रतिशतभन्दा बढी औषधि र अन्य स्वास्थ्य सेवामा खर्च गर्नेको सङ्ख्या वार्षिक २५ लाखले बढेको डब्लुएचओले जनाएको छ ।
प्रतिवेदनका अनुसार उच्च स्वास्थ्य खर्चमा विश्वभरका गरिबमध्ये आधा अफ्रिकामा बसोबास गर्छन् । अत्यधिक खर्चले अफ्रिकी नागरिकहरूलाई खाद्यान्न, कपडा र आश्रय जस्ता आधारभूत आवश्यकताहरूमा खर्च घटाउन बाध्य तुल्याउन सक्ने प्रतिवेदनले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य
प्रतिक्रिया