Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध


काठमाडौं । वाणिज्य बैंकहरूको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन भएका छन् । अध्यक्षमा निर्वाचित कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

संघको नयाँ कार्यसमितिका लागि उम्मेदवार दिने म्याद सोमबारसम्म रहेकोमा अध्यक्षमा कोइरालाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चयन भएका हुन् । प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । उनको उम्मेदवारी फिर्तासँगै कोइराला संघको अध्यक्षमा सर्वसम्मत चयन भएको संघका सीईओ अनिल शर्माले जानकारी दिए ।

संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीको मात्रै उम्मेदवारी परेको छ । उनी पनि सर्वसम्मत रूपमा उपाध्यक्ष चयन भएका छन् ।

संघमा तीनजना सदस्यको पद खाली रहेकोमा त्यसमा एभरेस्ट बैंकका सुदेश खालिङ, कुमारी बैंकका रामचन्द्र खनाल र नेपाल बैंकका तिलकराज पाण्डेयको उम्मेदवारी परेको शर्माले जानकारी दिए । उनीहरू पनि सर्वसम्मत रूपमा सदस्य चयन भएका छन् । खालिङ अहिले पनि सदस्य रहेकोमा दोहोरिने भएका हुन् ।

संघको नयाँ कार्यसमिति चयनबारे औपचारिक घोषणा हुन भने बाँकी छ । बुधबार बस्ने संघको साधारणसभाले नयाँ कार्यसमिति चयन भएको औपचारिक घोषणा हुनेछ ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट