Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

नेपाल–चीन सम्झौताः भैँसीको मासु निर्यातले पशुपालनलाई नयाँ उर्जा


काठमाडौं । नेपालबाट राँगा र भैँसीको मासु चीन निर्यात गर्न नेपाल–चीनबीच ऐतिहासिक सम्झौता भएको छ । सोमबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सांघाई जियान फुड प्रालिबीच यस सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौता समारोहमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सम्झौताले नेपाल–चीनबीचको व्यापारिक सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै यो पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा कोशेढुंगाको रूपमा रहने बताए ।

मन्त्री अधिकारीले नेपालको हावापानी र भूबनावट पशुपालनका लागि अत्यन्तै उपयुक्त रहेको उल्लेख गर्दै हिमाली भेगमा पाइने जडिबुटी र औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुहरूको दूध र मासुमा विशेष पौष्टिकता र औषधीय गुण हुने बताए । यस सम्झौताले नेपाली किसानलाई थप प्रोत्साहन दिनुका साथै युवालाई पनि पशुपालन व्यवसायमा आकर्षण गर्ने सम्भावना रहेको उनको भनाइ छ ।

“हाम्रो उत्पादनको परिमाण कम भए पनि यसको महत्व ठूलो छ,” मन्त्री अधिकारीले भने, “युवालाई आधुनिक प्रविधिको प्रयोगसहित पशुपालनमा जोड्न सके पुस्तान्तरण पनि सुनिश्चित हुनेछ ।”

उक्त सम्झौतासँगै भैँसी पालनको भविष्य सुरक्षित गर्दै नेपालले पशुपालन क्षेत्रलाई व्यावसायिक र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन ठूलो अवसर पाएको छ ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट