सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
काठमाडौं । सामाजिक सुरक्षा कोषले उपचार सुविधा विस्तार गरेको छ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा कोषले उपचार सेवा विस्तार भएको जानकारी दिएको हो ।
कोषका अनुसार अब योगदानकर्ताले १० लाख रुपैयाँसम्मको उपचारमा ५० प्रतिशत उपचार खर्च पाउनेछन् । अहिले योगदानकर्ताले एक लाख रुपैयाँसम्मको उपचारमा कोषबाट ८० प्रतिशत पाउँदै आएका छन् ।
देशभरी कोषमा आबद्ध अस्पतालको सङ्ख्या ९० वटा पुगेको छ । अहिले औपचारिक योगदानकर्ताका श्रीमान र श्रीमतीमा रहेको स्वास्थ्य उपचार सेवा अब योगदानकर्ताका १८ वर्षसम्मका छोराछोरीमा समेत विस्तार भएको छ ।
कोषमा सूचीकृत वैदेशिक रोजगारीमा रहेका श्रमिकका दम्पती तथा १८ वर्ष मुनिका छोराछोरीलेसमेत स्वास्थ्य उपचार सेवा पाउने कोषले जनाएको छ ।
नयाँ व्यवस्था अबको तीन महिनापछि कार्यान्वयनमा ल्याउने कोषको तयारी छ । कोष कार्यान्वयनमा आएको ६ वर्ष पूरा हुँदा १७ लाख ९४ हजार श्रमिक आबद्ध भएका छन् । कोषका अनुसार अहिलेसम्म औपचारिक क्षेत्रका ५ लाख ४३ हजार र वैदेशिक रोजगारमा रहेका १२ लाख ५० हजार श्रमिक कोषमा आबद्ध भएका छन् ।
वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने बेला कोषमा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । यसकै कारण कोषमा आन्तरिक श्रम बजारमा काम गर्नेभन्दा वैदेशिक रोजगारीमा जाने श्रमिकको आबद्धता बढेको हो ।
कोषको दायरा विस्तारका लागि काठमाण्डौसहित विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना भएको छ । यही आर्थिक वर्षभित्र कर्णाली प्रदशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना हुने कोषले जनाएको छ ।
क्याटेगोरी : अर्थ, समाचार, स्वास्थ्य
प्रतिक्रिया