Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

काँचो छाला संकलन गर्दाका दुःख–सुख, साथीहरुले नै नाक थुनाइ र छाला तस्करीको प्रस्ताव


ईश्वरी दाहाल

घटना २०२७ सालको हो । एकदिन चितवनस्थित हाम्रो कलेजमा सँगै अध्ययनरत साथीहरुले प्रस्ताव राख्नु भयो, ‘ल ईश्वरी, तपाईं काम गर्ने कारखाना हेर्न जाऊँ ।’ नाइँ कसरी भन्ने ! मैंले नाइँ भन्न सकिनँ । लु जाउँ न त भनेर साथीहरु लिएर कारखानामा गएँ । साथीहरुलाई मैंले काम गर्ने ठाउँ देखाउनु पनि थियो, हामी जस्तो सुकै स्थान र परिस्थितीमा पनि काम गर्न तयार हुनुपर्छ भन्ने बुझाउन, सिकाउनलाई ।

जब हामी म कार्यरत गोदाम पुग्यौं, तब साथीहरु त नाक थुन्न थाले । यति मात्र होइन, भाग्न पो थाले । म चाहिँ गोदाममा पुगेर छालामा नून लगाउन थालेँ । नूनले छालाको हड्याइलो पानी काड्छ । अनि यही मौकामा मैंले भनेँ, “हेर साथी हो, तिमीहरु अखिल होइनौ । अखिलले त जनतासित भिजेर काम गर्छ । जस्तो सुकै ठाउँ र परिस्थितीमा पनि काम गर्छ । हामो देश, समाजको एउटा हिस्सा यही परिस्थितीमा काम गरिरहेको छ होइन ? हेर, म बाहुनको छोरो भएर पनि यसरी काम गरिरहेको छु । कुनै पनि काम गर्न लाज, घिन र अप्ठ्यारो मान्नु हुन्न । अभ्यस्त हुँदै गएपछि बानी परिन्छ ।’ सामुन्ने नै सही, मेरो तर्कमा साथीहरु सहमत भए ।

काठमाडौंस्थित बाँसबारी छाला तथा जुत्ता कारखानामा पनि त्यस्तै काम हुन्थ्यो । नेपालीहरु कारखाना हेर्न आउँथे । तर थुक्थे । हुनत पहिलो, दोस्रो पटक आउँने मान्छे अभ्यस्त नभएर पनि थुक्न सक्छ । त्यसरी थुक्नुलाई चिनियाँहरु निको मान्दैनथे । मलाई चिनियाँहरु ‘हामीले काम गर्ने ठाउँमा थुक्ने’ भनेर रिसाउलान् भन्ने चिन्ता लाग्थ्यो । कामप्रतिको सर्मपणमा मलाई सानै उमेरदेखि गहिरो छाप परेको छ ।
म कार्यरत कारखाना हेर्न जाने साथीहरुलाई पछि कलेजको जुनसुकै काममा लगाउन सजिलो पनि भयो । उनीहरु नधकाइ, नलजाई काम गर्ने भए । उनीहरुलाई तिमीहरु श्रमजीवी वर्गका मानिस हौ कि होइनौ ? भने पछि मसँग सहमत भए । म कार्यरत कारखाना भ्रमण एक प्रकारको रमाइलो पनि भयो ।

हामीले चितवन क्याम्पसमा हाम्रो स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) कार्यकालमा अतिरिक्त क्रियाकलापहरु गरेर चन्दा सङ्कलन गरी पुस्तकालय, फर्निचरहरुलगायत सामग्रीहरु जोडेका थियौं । स्ववियुको मुखपत्र ‘प्रकाशपुञ्ज’ प्रकाशित गरेका थियौं । हामी पाक्षिक, मासिक साहित्यिक कार्यक्रमहरु पनि गर्दथ्यौंं । राजनीतिक, नैतिक प्रवचन, छलफल, अतिरिक्त क्रियाकलाप, हाजिरीजवाफ प्रतियोगिता ! हामीसँग रचनात्मक क्रियाकलापका केही न केही कार्यसूची भइरहन्थे ।

अँ, फेरि काँचो छालातिरै फर्कौ । मभन्दा अगाडिको नेतृत्वले काँचो छाला संकलनका लागि दुई वटा ट्रक, एउटा जिप, मोटरसाइकल, साइकल लगायतका सवारी साधन प्रयोग गरी छाला संकलन गर्दथे । म चितवन गएपछि ट्रक, जिप, मोटसाइकल हटाइयो । हामीसित दुइटा साइकल मात्र थिए । हामी तिनै दुइटा साइकलको भरमा काँचो छाला संकलन गर्दथ्यौं । त्यहाँ मसँग एकजना स्थायी र अर्को एक जना अस्थायी स्टाफ मात्र थिए । मभन्दा अघि दुई वटा ट्रक, एउटा जिप, मोटरसाइकल धेरै जना स्टाफ हुँदा १४ सय थान छाला संकलन गर्ने गरेका थिए ।

तर, श्रम शक्ति, साधन, स्रोत कटाएपछि पनि हामी तीन जनाले एक वर्षमा १४ हजार पाँच सय थान काँचो छाला संकलन गरेका थियौं । जनतासँग एकाकार भएर उनीहरुलाई उत्साहका साथ काममा लगाउन सकिएकैले त्यति धेरै छाला संकलन गर्न सकिएको थियो । त्यसैले आज पनि जनता नै काम र शक्तिका स्रोत हुन भन्नेमा म अविचलित र विस्वस्त छु । फरक के मात्रै हो भने जनता कहाँ, कसरी परिचालित गर्ने ?

तर, विडम्बना ! काम चोर र अरुले इमान्दारिताका साथ काम गर्दा डाह गर्ने प्रवृति जहाँ पनि हुन्छ । हामीले थोरै श्रमशक्तिले पनि ठूलो मात्रामा काम गरेको सफलताबाट सफलता केही खास–खासहरुलाई सह्य भएन । फलतः उनीहरु मलाई त्यहाँबाट पनि हटाउनुपर्छ भनेर लागि परे । जो काम चोर त छँदै थिए, काँचो छालाको समेत दुई नम्बरी गर्दथे । बाँसबारी छाला तथा जुत्ताकारखानाको तलब, भत्ता खाने अनि त्यसको स्रोत र साधनबाट संकलन गरिएको काँचो छाला भारत तस्करी गर्दथे ।

यो २०२७ सालको घटना हो । चितवनमा कार्यरत रहदा छाला तस्करी सम्बन्धी रोचक घटनाहरु घटेका छन् । जसमध्ये एउटा विशेष स्मरणीय घटना उल्लेख गर्न चाहन्छु । भलै यस्ता घटनाका फेहरिस्त अरु पनि छन् । एकदिन भारत मजफ्फरपुरका हड्डीका ठेकेदार अहमद हुसेन मलाई भे्टन मेरो कोठामै आए । उनी काँचो छालाको पनि काम गर्दथे । मेरो कोठामै आएर उनले मलाई भने, “हाकिम साब, म तपाईंको कारखानालाई पठाइदिनुपर्ने छाला पठाइदिन्छु । गन्ती छाला तपाईंलाई दिन्छु । बिनेका छाला मलाई दिनुस् । तपाईंलाई म आवश्यक पैसा सहयोग म गर्छु ।’ मैले उसलाई भनेँ, ‘बहुत्, बहुत् सुक्रिया । मबाट यो संभव छैन ।’ मैले उसको प्रस्ताव स्वीकार गरिनँ । उ अनुहार बिगारेर मेरो कोठाबाट निस्कियो । त्यहाँ गलत काम गर्न मानिनँ । हुसेन चितवनलगायत क्षेत्रबाट हड्डी र काँचो छाला चोरी निकासी गर्ने दलाल हुन् भन्ने मलाई राम्रो जानकारी थियो ।

काँचो छालाको तस्करी नहोस्, छाला संकलकहरुले इमान्दारितापूर्वक काम गरुन्, छाला तस्करी गर्नेहरुको सूचना दिउँन् भनेर म चितवनका सार्की, चेपाङ आदिको घर–घर जान्थेँ । उनीहरुसँगै खान्थेँ, सुत्थेँ । उनीहरुले काम गरेको ज्याला (पैसा) हात–हातमै दिन्थे । मभन्दा अघिकाले पैसा परैबाट फालिदिन्थे रे ! म मजदुरहरुलाई उधारोमा पनि खानपिनका लागि चामल, दाल, तेल नूनलगायतका सामाग्रीहरुको व्यवस्थापन गरिदिन्थे । पैसा आउने बित्तिकै रातको १२ बजे पनि घर–घरमै पु-याउन जान्थेँ ।

काँचो छाला संकलन कारखानाका सबैभन्दा ठूला हाकिम थिए, यज्ञवल्लव पन्त र सुरेन्द्रप्रसाद दाहाल । उहाँहरु चितवनको बसेनीस्थित काँचो छालाको गोदाम निरीक्षणमा आए । उनीहरुले स्पष्ट भाषामा भनें ‘ईश्वरीजी, तपाई पनि परिवारवाला व्यक्ति हुनुहुन्छ, त्यसका निम्ति खर्चबर्चको आवश्यकता पर्दछ । यति तलबले मात्र पुग्दैन । त्यसका निम्ति कारखानामा पठाउने छाला किनेको भन्दा बढी दाम राखेर पेश गर्नुभयो भने हामी तीनैैजना बाँडेर खाऔंला । तपाईले पठाएको पैसा स्वीकृति गर्ने काम हामी गरौंला ।’

मैले सिधासिधी भनेँ, ‘तपाईहरु जस्तो उच्च ओहोदामा रहेका हाकिमहरुले हामी तलका कर्मचारीलाई यस्तो कुरा सिकाउने ? तपाईहरु विदेश जानुभएको छ, विभिन्न तालिम लिनुभएको छ, सबै कुरा जान्नुभएको छ, अनि हामीलाई गलत कुरा सिकाउने ? यो काम मबाट हुन सक्दैन ।’ उनीहरुले कुनै प्रतिक्रिया दिएनन् । खाना खाएर बिदा भए ।

कारखाना पुगेपछि व्यवस्थापकसित प्रस्ताव राखेछन्, ‘ईश्वरीजीलाई जहाँ पठाए पनि हुन्छ । उहाँ उभिए काम भइहाल्छ ।’ हुन त कारखानाका महाप्रबन्धकले ‘ईश्वरीले चितवनमा राम्रो काम गरिरहेको छ, राम्रै छाला पठाइरहेको छ । किन सरुवा गर्नुप¥यो’ भनेका थिए रे । तर, यज्ञपल्लव पन्तजीले कर गरेर चितवनका लागि अरु कोही मानिस पठाए हुन्छ भनेर दबाब दिएछन् । यसपछि मेरो स्थानमा सत्यसिंह बस्नेतलाई पठाइयो । मलाई त्यहाँबाट गण्डकी अञ्चल सरुवा गरियो । बस्नेतलाई बरबुझारथ गरेर म सरुवा भएको ठाउँतिर लागेँ ।

म सरुवा भएर गएको डेड, दुई वर्षपछि चितवनबाट कारखानामा छाला जानै सकेन । कसैले पनि आफू आवद्ध संस्थाको हितप्रति राम्रो काम गरेनन् । म सरुवा भएलगत्तै राम्रो, राम्रो छाला सबै चोरीनिकासी गरिएछ । जुन काममा हाकिम र हाकिमनिकट नै संलग्न भए । बाँसबारी छाला तथा जुत्ता कारखानाका लागि नराम्रा छाला, त्यो पनि थोरै परिमाणका मात्र संकलन भएछ । त्यही नराम्रो छालाबाट समेत संस्थाबाटै ‘कमिसन’ खान थालिएछ, जसले कारखानालाई ठूलो नोक्सानी पुग्नु अनिवार्य थियो । त्यसको परिणाम देखियो पनि ।

थाहै नपाई शीर्ष नेतासँग सहकार्य !

चितवनलाई मुकाम बनाएर कार्यरत रहँदा खम्बसिंह कुँवर ‘काजीसाब’ सँग प्रत्यक्ष र रुपलाल विश्वकर्मासँग भूमिगत रुपमा सम्पर्क हुँदो रहेछ । त्यसबेला हामीलाई नेताहरुको नाम थाहा हुन्नथ्यो अर्थात उनीहरुबारे सोधखोज गर्न प्रतिबन्ध थियो ।

त्यसैले नेताहरुको नाम थाहा नभएरै सही, उनीहरुसँग बारम्बार भेट भइरहन्थ्यो । हामी उनीहरुले लगाए, सिकाए अनुसारको काम खुरुखुरु गरिरहेका हुुन्थ्यौं । म पार्टी कामको अतिरिक्त बाँसबारी छाला तथा जुता कारखानाका लागि काँचो छाला सङ्कलनमा समेत सक्रिय थिए । खासमा मेरो मुख्य जिम्मेवारी नै त्यही थियो । मेरो पेसा नै त्यही थियो ।

म, चन्द्रदीप घिमिरे र कविराज गिरी मिलेर हामीले त्यसबेला चितवन नारायणगढमा ‘मजदुर पुस्तक भण्डार’ स्थापना गरेका थियौं । कम्युनिष्ट पार्टीका नेता जगतबाको घरसँगै जोडिएको प्रेमकुमार यमि, लक्ष्मी यमिको मिठाई पसल थियो, त्यही पसलसँगैको कोठा महिनाको सातसय रुपियाँ भाडामा लिएर पुस्तक भण्डार चलाएका थियौं । त्यहाँ हामीले ‘मातृभूमि’ साप्ताहिक मात्र प्रत्य ेकअंक पाँचसय प्रति बेच्थ्यौं ।

भारतमा प्रकाशित भएर आउने दैनिक तथा साप्ताहिक पत्रिका पनि उत्तिकै बिक्री हुन्थे । त्यहाँ नेपालबाट निस्कने सबैजसो पत्रपत्रिकाहरु पाइन्थ्यो । त्यो बेला जनताको बैचारिक तथा राजनीतिक दर्शन सिकाउने आधार नै पत्रपत्रिका थिए । हाम्रो पुस्तक भण्डारबाट पत्रपत्रिका बिक्री बिक्री हुने भएकोले जनतामा क्रमशः वैचारिक तथा राजनीतिक प्रभाव बढिरहेको थियो । जसले गर्दा जनतासँग पार्टीको सम्बन्ध पनि राम्रो बनिरहेको थियो ।

चितवनमा म मेरो वय र लयका अरु साथीहरुभन्दा अलि बढी गतिशील र सक्रिय थिएँ । चितवन आफैंमा पनि राजनीतिक रुपमा सचेत जिल्ला भएकाले सबै पार्टीका प्रतिनिधिहरु हाम्रो पसलमा पत्रपत्रिका किन्न तथा पढ्न आउँथे । जसले गर्दा त्यहाँ बहसको सिर्जना हुने गर्दथ्यो । त्यसले हाम्रो पनि राजनीतिक तथा वैचारिक स्तर उठाउन मद्दत पुग्थ्यो । मलाई लाग्छ, आज चितवन जिल्ला जुन स्तरमा राजनीतिक तथा वैचारिक क्रियाशीलतामा उठेको छ, त्यसमा हाम्रो त्यतिबेलाको सक्रियताले पनि कहीँ न कहीँ भूमिका खेलेको छ ।

 


क्याटेगोरी : बिचार

प्रतिक्रिया


ताजा अपडेट