जनवादी गायक जीवनको विद्रोहपूर्ण जीवनगाथा
सिमली छायामा बसी भरिया लामो सास फेरेको
उमेर भइसक्यो असी झन ठूला दुखले घेरेको…।
‘रक्तिम’ एल्बममा समेटिएको यही बोलको निकै लोकप्रिय गीत गाउँ–सहरमा घन्कियो भने केहीलाई त कौतुहलले सताउँछ– यो कर्णप्रिय आवाज–गीत कसको होला भनेर । तर, धेरैलाई हेक्का छ । त्यसैले, जोकोहीले मुक्तकण्ठले प्रशंसा गर्छन्– ‘गीतको शब्द रचना, संगीत र संयोजन सबै उत्कृष्ट छन् ।’ यतिमात्रै होइन– प्रगतिशील मायाप्रीति, मौलिक संस्कृति, भेषभूषा, भूगोल तथा राष्ट्रप्रेम आदि विविध विधाले ओतप्रोत अन्य थुप्रै क्रान्तिकारी गीत छन्– उहाँका स्वरमा सजिएका । कतै नेपाली क्रान्तिकारी सांगीतिक आकाशमा ज्योति छर्नकै लागि उहाँको जन्म भएको त होइन भन्ने लाग्छ । कला अनि गलाका धनी उहाँलाई बहुप्रतिभाशाली भन्दा अत्युक्ति नहोला । नेपालका चर्चित तथा होनहार ‘जनवादी’ गायक एवं संगीतकार जीवन शर्माको जीवनगाथा हो यो ।
भनिन्छ– ‘जसले आफ्नो स्वार्थभन्दा माथि उठेर अरूको भलाइ गर्छ– ऊ सबैको ढुकढुकीमा बस्न सफल हुन्छ ।’ ठीक यस्तै भयो जीवनको सवालमा पनि । निजी स्वार्थ त्यागेर निरन्तर निमुखा, जेहेनदार, विपन्न, श्रमजीवी तथा अग्रगामी–क्रान्तिकारी जनताको पक्षमा लागिरहनुभयो । उनीहरूको आवाज, कथा–व्यथा र पिरमर्कालाई गीत–संगीतको माध्यमबाट उतार्नुभयो । शोषक र सामन्तविरुद्ध अनवरत लड्नुभयो र अन्ततः जनवादी गायकका रूपमा स्थापित–चर्चित हुनुभयो । जीवनको जन्म विक्रम सम्वत् २०१७ भदौ २५ गते बाग्लुङ जिल्लाको राङखानीमा भएको हो । प्रधानपञ्च, मुखिया र जिम्मावालको विरासत बोकेको सम्पन्न परिवारमा जन्मिनुभएका उहाँको बाल्यकाल सुखमय ढंगले बित्यो । गोठभरि भरिभराउ गाईभैंसी । तिनीहरुलाई घाँससोतर गर्ने मानिस थिए उहाँकहाँ । प्रशस्त जग्गा भएकाले खेतमा ६० मुरी धान अनि बारीमा उत्तिकै गहुँ, मकै र कोदो फल्थ्यो । बुवा पनि फेरी÷फेरी घोडा चढेर हिँड्नुहुन्थ्यो रे । तर, पनि जीवनलाई पुख्र्याैली सम्पत्तिले कहिल्यै आकर्षित गरेन, बरु गरिब बस्तीको झुपडीले नै जिन्दगीभर तान्यो । मजदुरका पक्षमा लागेर अत्याचारविरुद्ध गीत गाउनुपर्छ भन्ने बाटो त उहाँले उतिबेलै पहिल्याउनुभएको थियो, जतिबेला उहाँ खाने, खेल्ने अनि रमाउने काँचो माटोजस्तै हुनुहुन्थ्यो । विद्यालयमा शिक्षकले नै एकान्तमा लगेर ‘पञ्चायती शिक्षा भनेको बेकार हो, देशमा राम्रो व्यवस्था छैन । राजतन्त्र पनि गलत हो । सामन्तवादविरुद्ध संघर्ष गरेर जनवाद नल्याएसम्म जनताले सुख पाउँदैनन्’ भनेर चेतना फैल्याएपछि जीवनको बालमष्तिष्कमा त्यही प्रभाव पा¥यो ।
हुन पनि घरमा बुवा नै प्रधानपञ्च, जिम्वाल र मुखिया भएकाले आफ्नो परिवार नै पञ्चायती शैलीको भएको भन्दै त्यस्तै १२ वर्षको उमेरमा विद्रोह गर्नुभएको हो जीवनले । उहाँलाई त्यस्तै ४÷५ वर्षको उमेरमा घरनजिकैको विद्यालयमा भर्ना गरियो । त्यहाँ उहाँले प्राथमिक तहसम्मको अध्ययन पूरा गर्नुभयो । त्यसपछि थप अध्ययनका लागि करिब दुई घण्टा टाढाको निम्न माध्यमिक विद्यालय जान थाल्नुभयो । त्यसपछि दैनिक चार घण्टा हिँडेर २०३५ मा सर्कुवास्थित श्री जनता माध्यमिक विद्यालयबाट राम्रो अंक ल्याएर एसएलसी गरेपछि जीवनलाई उच्च शिक्षाको बाटो खुल्यो । उहाँको परिवारमा पनि सन्तानलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भइसकेको थियो त्यतिबेलासम्म । र त छोरालाई डाक्टर, इन्जिनियर बनाउन चाहनुहुन्थ्यो जीवनका बुबाआमा । त्यसैले जीवन पनि इन्जिनियर बन्ने सुनौलो सपना सँगालेर २०३५÷३६ मा काठमाडौं भित्रिनुभयो । उहाँ इन्जिनियरिङ कलेज पुल्चोकमा भर्ना हुनुभयो र दुई वर्ष इलेक्ट्रिकल इन्जिनियरिङ पढ्नुभयो । त्यतिबेला निरंकुश पञ्चायतका कारण गरिब जनताले सुखको सास फेर्न पाएका थिएनन् । यस अर्थमा त तत्कालीन राज्यसत्ताको थिचोमिचोले जीवनलाई विद्रोही बनायो । भोकले छट्पटिएका गरिबको दुःख देखेर जीवनको मन पनि उद्वेलित हुन थाल्यो । यसरी अध्ययन गर्दै गर्दा २०३६ मा पञ्चायतविरुद्ध आन्दोलन सुरू भयो । विद्यालय उमेरबाटै राजनीतिप्रति विशेष चासो राख्नुहुने उहाँ काठमाडौं आएपछि त अझै खारिनुभयो । यसै क्रममा जनवादी गीत गाउने वेदना परिवारको सम्पर्कबाट आन्दोलनमा सक्रिय हुन थाल्नुभयो । विद्यार्थी आन्दोलन रोकिएपछि २०३८ मा उहाँले एक वर्ष सोलुखुम्बू र मुस्ताङमा अनि केही समय बाग्लुङमा अध्यापन पनि गर्नुभयो । जनताको अवस्था बुझ्ने, राजनीतिक सञ्जाल÷सम्बन्ध बढाउने र विद्रोहको दियो बाल्ने योजनाका साथ केही वर्ष देशका अन्य ठाउँमा थप अध्यापन गर्नुभयो । त्यसपछि भने संगीतबाटै जनतामा समर्पित हुनुभयो । प्रहरीबाट जति लाठी वर्षा भए– त्यति नै उहाँको मनमा आक्रोशको ज्यालामुखी दन्किन्थ्यो । अनि त्यही गतिमा कडा शब्द र संगीतमा गीत घन्किन्थ्यो । त्यही आक्रोशको ज्यालामुखीको बीचमा ‘जहाँ भोको पेटले दानापानी मागेको हुन्छ, अन्याय र अत्याचारले जहाँ सिमा नाघेको हुन्छ, त्यहाँ फुटछ ज्वालामुखी…’ बोलको गीत जन्मियो । यो गीतले धेरै नेपालीलाई आन्दोलनप्रति प्रेरित गरायो । त्यसपछि जीवनले सामन्तको जालो च्यात्ने उद्देश्यले गाउँ, सहरमा गरिब, दुखी जनताको पक्षमा जनवादी गीत गाउँदै हिँड्न थाल्नुभयो । परिणामतः उहाँ तत्कालीन सरकारको तारो बन्न पुग्नुभयो । प्रहरी प्रशासनले उहाँलाई कहिले पक्राउ गर्ने त कहिले पुर्जी नै जारी गरेर निकै दुःख दिन थाल्यो । त्यसपछि २०४१ देखि २०४६ सम्म भूमिगत हुनुभयो । २०३६ देखि २०४६ को आन्दोलनमा उहाँको ‘फोक्ल्याण्डको टापुबाट…’, ‘जंगलको बीचबाट…’, ‘लेखिरहेछु चिठी तिमीलाई…’ ‘लडाइँको मैदानबाट…’ लगायत बोलको गीत निक्कै लोकप्रिय बन्न पुग्यो ।
२०५२ फागुन १ गतेबाट माओवादीले सशस्त्र विद्रोह सुरू गरेपछि जीवनको टोलीलाई गीत रेकर्ड गर्न कठिन भयो । यद्यपि ‘घुस खाने घुसियालाई खेद गाउँबाट…’, ‘जाग जाग किसानहरु हो, जुर्मुराई उठ मजदुर हो…’, ‘गोलीले न त्यो मर्छ…’, ‘क्रान्ति त्यो उर्लेको बेला रोकिँदैन बन्दुकले छेकेर…’, ‘कि हा¥यो अब यही एउटा जीवन, कि जित्यो संसार…’, ‘मुक्तिका लागि फलामे छाती…’लगायतका उहाँका सयौं गीत घन्किए । अहिलेसम्म दुई हजारभन्दा बढी गीत रेकर्ड गराउनुभएका जीवनका दर्जनौं गीत लोकप्रिय छन् । उहाँले २०६२÷६३ को आन्दोलनमा ‘हिउँ फुटे हिमनदी जनता जुटे जनसागर…’, ‘औंसीको यो रात पनि हट्छ छिटै चिन्तै नगर…’ आदि गीतले पनि जनआन्दोलनलाई बल पु¥यायो । हाल ६४ वर्षीय जीवनको सादा जीवन नै सर्वत्र पहिचान बनेको छ । काठमाडौं छिरेदेखि अहिलेसम्म डेरामै बास छ । देशविदेशका कार्यक्रममा गीत गाएर पाउने पारिश्रमिकबाटै घरखर्च चलाउनुभएको छ । दर्शन र राजनीतिशास्त्रमा स्नातक, अंग्रेजी र मानवशास्त्रमा एमए गर्नुभएको छ उहाँले । साउदी अरब, दुबई, मलेसिया, जापान, अस्ट्रेलिया, कोरिया युरोपलगायतका विभिन्न देशमा पुगी आफ्नो कला प्रस्तुत गरिसक्नुभएको छ जीवनले ।
क्याटेगोरी : साहित्य
प्रतिक्रिया