एनपिएल क्रिकेटः कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा
काठमाडौं, ४ पुस । नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।
दोस्रो क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १८ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।
यससँगै जनकपुरले एनपीएलको फाइनलमा सुदूरपश्चिमविरुद्ध भिडन्त पक्का गरेको छ । शनिबार फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर प्रतिस्पर्धा गर्नेछन् ।
टस जितेर ११९ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले संघर्षपूर्ण जित निकालेको हो । ब्याटिङ नचल्दा कर्णालीको एनपीएल यात्रा पनि टुंगिएको छ ।
जनकपुरका ओपनरसहित सुरुवाती क्रममा ब्याटर सस्तैमा आउट भए । १० ओभरमा खेल पुग्दा जनकपुरले ४ विकेट गुमाउँदै ४१ रनको नाजुक अवस्थामा थियो ।
जेम्स नीशमले जनकपुरकलाई उकासे । उनले १७ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४५ रन जोडे । जनकपुरबाट सबैभन्दा बढी रन बनाउने उनै हुन् ।
जनकपुरलाई फाइनलमा पुर्याउन हर्श थाकरले १७, शेर मल्लले १६ मायन, यादवले १४ र आकाश त्रिपाठीले १३ रन जोडे ।
ओपनरद्वय आशिफ शेख र सुवास कंशाकारसहित अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ कर्णालीका विपिन शर्माले सर्वाधिक ३ विकेट लिए । उनले जनकपुरका ओपनर सुवास कंशाकार, जेम्स नीशम र महोम्मद मोसिनको विकेट लिएका हुन् । सोमपाल कामी, विलियम बिसिस्टो, जिसान मकसूदले समान १–१ विकेट लिए ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया