Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

बङ्गलादेश र पाकिस्तानका नेताहरु सम्बन्ध बलियो बनाउन सहमत हुँदा भारत चिन्तित


काठमाडौं । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले पाकिस्तानसँग सम्बन्ध बलियो बनाउन दुवै देश सहमत भएको बताएका छन् । यो कदमले भारतसँगको बङ्गलादेशको चिसो सम्बन्धलाई थप परीक्षण गर्ने सम्भावना बढेको बीबीसीले लेखेको छ ।

पाकिस्तान र बङ्गलादेश सन् १९७१ को क्रूर युद्धमा विभाजित भएका राष्ट्र हुन् । त्यसपछि बङ्गलादेश पाकिस्तानको कट्टर प्रतिद्वन्द्वी भारततर्फ नजिकियो तर भारतको समर्थन पाएकी र अहिले त्यहाँ निर्वासनमा रहेकी नेता शेख हसिनालाई अगस्टमा विद्यार्थी नेतृत्वको क्रान्तिले सत्ताच्यूत गरेपछि ढाकाको नयाँ दिल्लीसँगको सम्बन्ध बिग्रिएको छ ।

इजिप्टमा एक सम्मेलनका क्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र बङ्गलादेशका अन्तरिम नेता युनुसबीच भेट वार्ता भएको हो । वार्ताका क्रममा सन् १९७१ को युद्धका बेलादेखि बाँकी रहेका गुनासोहरू समाधान गर्ने विषयमा छलफल भएको खबरमा उल्लेख छ ।

भेटवार्तापछि युनुसको कार्यालयबाट आएको विज्ञप्तिमा दुवै नेता व्यापार, वाणिज्य र खेलकुद तथा सांस्कृतिक प्रतिनिधिमण्डलको आदानप्रदानको माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन सहमत भएका उल्लेख छ ।

दुवै नेताले मुस्लिम बहुल आठ देशको डी–८ आर्थिक सहयोग सङ्गठनको कायरो शिखर सम्मेलनमा भाग लिइरहेका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट