पोखरामा हतियार देखाएर लुट्ने कार्यमा संलग्न तीन जना पक्राउ
कास्की, ५ पुस । पोखरामा हतियार देखाएर लुट्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हतियार देखाएर सुनका गहना लुट्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका हुन् ।
गत २३ मंसिरमा मध्यरातमा पोखरा ३१, बेगनास गैह्राघरका ७९ वर्षीय वेदुराम अधिकारीको घरमा उक्त लुटपाट भएको थियो ।
तीन जना नकावधारी मानिसहरुले खुकुरी देखाएर वेदुरामकी श्रीमतीलाई कुटपिट तथा लछारपछार गरी उनले लगाएको सुनका गरगहना औठी एक र कानमा लगाएको २ वटा रिङ चोरी गरी फरार भएका थिए । उनीहरुको प्रहरीले खोजतलास गरिरहेको थियो । यसैक्रममा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले करिब १० दिनपछि पक्राउ गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सो कार्यमा संलग्न रहेको अभियोगमा तनहुँको रिसिङ २ घर भइ हाल पोखरा रामबजार बस्ने ३७ वर्षीय मोहन भन्ने मधुसिंह थापामगर, बागलुङ बाङगादोभान ३, तमान घर भइ हाल पोखरा ६ लेकसाइड बस्ने ३८ वर्षीय प्रकाश थापा र रोल्पाको थवाङ घर भइ हाल पोखराको मालेपाटन निवासी ३२ वर्षीय गोपाल नेपालीलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
क्याटेगोरी : जनमञ्च, प्रदेश खबर
प्रतिक्रिया