अर्काको सम्पत्ति हडप्न कति डरलाग्दो जालसाजी ?
वडा अध्यक्ष पनि सामेल
विकासध्वज राणाले २०७७ देखि २०७८ सम्मको अवधिमा ऋणको नाममा चेक जारी गर्ने, नक्कली कागजात तयार गर्ने र अर्काको सम्पत्ति हडप्ने उद्देश्यले गम्भीर ठगी तथा कीर्ते जालसाजी गरेका तथ्य फेला परेका छन् । यो घटनाले कानुनी छिद्रको दुरुपयोग, आर्थिक प्रलोभनमार्फत कसरी व्यक्तिले अनैतिक क्रियाकलाप गर्न सक्छ र राज्यको आधिकारिक निकायलाई समेत प्रलोभनमा फसाउन सक्छ भन्ने देखाएको छ ।
२०७७ चैत्र २० मा विकासध्वज राणाले सबिना केसीको नाममा दुई करोड रुपैयाँको चेक जारी गरे । त्यसपछि २०७७ बैशाख १७ मा सबिनालाई थप एक करोडको चेक हस्तान्तरण गरियो । २०७८ असार ३ मा विकासध्वजकी पत्नी रमा राणाले सबिनालाई ८० लाखको चेक दिइन् । यी सबै चेकहरु विकासध्वज र रमाले ऋण लैजाँदा चेक धरौटीमा लगेका हुन । उनीहरुले पटकपटक गरेर तीन करोड ८० लाख सविनाबाट ऋण लिएको देखिन्छ । त्यसमध्ये ८० लाखको चेक सन् २०१५ मा नै खाता बन्द भएकोमा सन् २०२१ को जुन १७ मा ग्लोबल आईएमई बैंकको चेक दिइएको छ ।
सबिनाको सिद्धार्थ बैंकको खाता नम्बर ०१६१५४११६७० बाट पटकपटक गरी ९० लाख जति रकम २०७७ सालमा विकासध्वजले निकालेको बैंक स्टेटमेण्टमा देखिन्छ ।
सबिनाको ऋण नतिरी सबिनालाई उल्टो ऋणी बनाएको देखिन्छ । २०७८ जेठ १० मा सबिनालाई विकासध्वजले सात करोडको चेक लिएर ऋणी बनाए । सविनाको फुपू नाता बताउने रमाका पति विकासध्वज राणाले सबिनाको ब्ल्यांक चेकमा मिति, रकम र सबिनाको नक्कली हस्ताक्षर समेत गरेको उनीहरुको अडियो सम्वादबाट पनि प्रष्ट हुन्छ । अडियो सम्वादमा रमा राणाले नै फेक चेक हो भनी स्वीकार गरेको सुनिन्छ ।
यसो गरेकोमा सबिनाको पनि अडियो सम्वादमा आपत्ति देखिन्छ । सबिनाका पूर्व पति शशी केसी खत्रीसँगको विवाद र बदला लिन आफूले यो गरेको भन्ने सम्वाद प्रष्ट सुनिन्छ । अडियो रेकर्डमा पुरानो ऋणमा कन्सिडर गर्ने हो भने आफूहरुले पहिला सात करोड र पछि १० करोड ४० लाखको चेक, तमसुक च्यात्ने भनेको कुरा बारम्बार सुन्न सकिन्छ ।
विडम्बना त के छ भने अधिकारको चरम दुरुपयोग २०७८ साउन २२ मा देखियो, जब १० करोड ४० लाख रुपैयाँको तमसुक बूढानीलकण्ठ वडा १ का अध्यक्ष सुरेन्द्र लामाको सहयोगमा तयार पारियो । विकासध्वज र रमा राणा काठमाडौं महानगरपालिका १० का वासिन्दा हुन ।
उनीहरुले काठमाडौं १० को घर भाडामा लगाएर बूढानीलकण्ठ ६ मा अर्काे घर बनाएर वसोवास गरेका छन् । सबिनाको बूढानीलकण्ठ ७ माइती र घर दुवै हो । बूढानीलकण्ठ १ मा किन कागज बनाइएको भनी वडा अध्यक्ष सुरेन्द्र लामालाई सोध्दा विकासध्वजका आमा बसोवास गरेका आधारमा कागजात बनाइदिएको तर्क गरे पनि प्रक्रिया कानुनी रूपमा त्रुटिपूर्ण देखिएको छ ।
विकासध्वजले २०७५ साल साउन २१ गते डिल्लीबजार मालपोत कार्यालयबाट अंशबण्डा, आमासँग अंश भर्पाइ लिई सकेका छन् । एमालेबाट जितेका वडा अध्यक्ष सुरेन्द्र लामाको आर्थिक प्रलोभनका कारण सेटिङमा सहभागी भएको देखिएको छ । तमसुक लेख्ने लेखन्दास ढकबहादुर थापाले काठमाडौं जिल्ला अदालतमा दिएको वयानमा आफू उक्त वडामा गएर नलेखेको, आफ्नै अफिस डिल्लीबजारमा लेखेको बताएका छन् । तमसुकमा वडामा बसी लेखी लेखाएको उल्लेख छ । तमसुकमा वडा नम्बर एक हस्तलिखित आफ्नो नभएको पनि बताएका छन् ।
उनले अदालतमा दिएको वयानमा भनेका छन, ‘मैले मेरो कागज मेरो अफिसमा तयार गरेर पठाएको हुँ । वादी प्रतिवादीले उक्त कागज लगी बूढानीलकण्ठ नपा मा सही छाप प्रमाणित गराउँछु भनेर लैजानु भएको हो ।’
विकासध्वज र रमा राणाले नक्कली कागजात तयार गरेर अर्काको सम्पत्ति हडप्ने उद्देश्य राखेको कुरा स्पष्ट छ । उनीहरूले सबिना केसीलाई ऋणको बहानामा ठूलो रकमका चेक बनाउन लगाएर शशी केसी खत्रीको सम्पत्तिमा अधिकार जमाउने प्रयास गरेका थिए । जुन बेलामा उनीहरुले वडा कार्यालयमा १० करोड ४० लाखको तमसुक बनाए, त्यो अगाडि सविना र शशी केसीको सम्बन्ध विच्छेद भइसकेको थियो ।
सबिना र शशी केसी खत्रीबीचको सम्बन्ध विच्छेदपछि पनि शशीको सम्पत्ति हडप्न सबिनाले रमा राणासँग मिलेर कीर्ते प्रक्रियालाई अगाडि बढाएको देखिन्छ । यो क्रममा रमा राणाले सबिनाकी फुपू बनेर भूमिका निर्वाह गरेकी थिइन् ।
विकासध्वज र रमा राणाको क्रियाकलापले सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर प्रश्न उठाएको छ । २०८१ असार ६ मा रमा राणाविरुद्धको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतसँग प्रारम्भिक सुनुवाइका लागि मिसिल माग गरेको छ ।
अदालतमा पेश गरिएका कागजातमा विकासध्वजले गाडी किन्न र घर बनाउन लिएको ऋणको प्रमाण प्रस्तुत गरेका छन् । जुन आफैं प्रयोग गरिरहेकाले यी प्रमाणहरूले स्रोतबारे शंका उत्पन्न गराएका छन् ।
उनले यतिसम्म कि समस्याग्रस्त ओरेण्टल कोअपरेटिभ लिमिटेडको २०६९ साल असोज १८ को फिक्स डिपोजिट सर्टिफिकेट पाँच थान सबिनालाई पैसा दिएको प्रमाण भनी आदालतमा झुटो विवरण दिएका छन् । विष्णु दर्शन बचत तथा ऋण सहकारी संस्था लि. को वचत रसिद पनि अदालतमा बुझाएका छन् । यसमा पैसा दिएको भन्ने कुनै प्रमाण, आधार छैन ।
कुनै सम्पत्ति खरिद–बिक्री, ऋण तथा सापटीजस्ता काम गर्दा १० लाख रुपैयाँभन्दा बढी भएमा बैंकिङ प्रणाली नै अपनाउनुपर्ने व्यवस्था सरकारले २०७४ साल साउन १ गतेबाट गरेको छ ।
राष्ट्र बैंकको परामर्शमा अर्थ मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ४४ (ग) बमोजिम कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा नेपाली रुपैयाँ १० लाख वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद–बिक्री तथा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्नेछ भनिएको छ । यो नियम लागू भइसकेपछि करौडौंको कारोबार भएकाले उनले यदि गरेको हो भने पनि गैरकानुनी ठहरिन्छ । पछि मत नमिलेपछि कीर्ते चेक खडा गरेर उनीहरुकै गुरुयोजनामा सबिना केसीलाई दुई वर्ष अघिदेखि बैंकिङ कसुरमा जेल राखिएको छ । रमा र विकासध्वज राणाले प्रायोजित खडा गरेकी पम्फा रोकाले ३५ लाखको चेकमा बैंकिंग कसुरमा सबिनालाई थुनामा राखेकोमा सम्पत्ति शुद्धीकरणले उनीमाथि छानविन गर्दा नक्कली आयस्रोत रहेको देखियो । हाम्रो हातेमालो बचत तथा ऋण सहकारीबाट ऋण लिएको देखाइएकोमा त्यो रेकर्डमै नभएको, नक्कली कागजात र छाप प्रयोग गरेर मुद्दा बनाइएको तथ्य पत्ता लागेको छ । सहकारी कीर्ते, ठगीमा सम्पत्ति शुद्धीकरणमार्फत मुद्धा चली काठमाडौं जिल्ला अदालतबाट ठगी ठहर भएपछि पम्फा रोकालाई तीन महिना कैद ठहर गरिएको छ । विडम्बना सो कीर्ते कागजी आधारमा सबिना दुई वर्षदेखि जेलमा छिन । सबिनाको चेक धरौटी राखेर विभिन्न् व्यक्तिसँग उठाएको रकम रमा र विकासको खातामा जम्मा गरेको केही तथ्य फेला परेको छ । अडियो सम्वादमा सबिनाले उठाएको रकम आफूहरुले प्रयोग गरेको भनी उनीहरुले स्वीकारेका पनि छन् ।
रमा राणाविरुद्ध २०७८ सालदेखि २०८१ सालसम्म विभिन्न व्यक्तिहरूले बैंकिङ कसुर र ठगी मुद्दा दर्ता गरेका छन् । यी मुद्दाहरूमा बैंकिङ अपराध, ठगी र आपराधिक लाभसम्बन्धी गम्भीर आरोपहरू छन् ।
२०८१ साल जेठ २ गते पाँच लाख रुपैयाँको बैंकिङ कसुरमा जावलाखेल प्रहरी कार्यालयले रमा राणालाई पक्राउ गरेको थियो । त्यसपछि उनी धरौटीमा रिहा भएकी थिइन् ।
२०७८ साल पौष ९ गते सरोज मल्ल ठकुरीले राणाविरुद्ध बैंकिङ कसुरको जाहेरी दिएका थिए । यस प्रकरणमा उनी केही समय फरार रहिन् र पछि अदालतमा उपस्थित भई धरौटीमा छुटिन् । यो मुद्दा हाल अदालतमा विचाराधीन छ ।
२०७८ साल पौष २९ गते शशी केसी खत्रीले २० लाख रुपैयाँको बैंकिङ कसुरमा रमा राणाविरुद्ध जाहेरी दर्ता गराएका थिए । यस घटनामा पनि उनी फरार भई पछि अदालतमा हाजिर भई धरौटीमा छुटिन् । २०८० साल जेठ १४ गते उच्च अदालत पाटनले यो मुद्दामा फैसला गर्दै राणालाई पैसा तिर्ने र एक दिन कैद भुक्तान गर्न आदेश दिएको थियो ।
२०७९ साल मंसिर ६ गते सबिना केसीले रमा राणा, उनका पति विकासध्वज राणा र अन्य सातजना विरुद्ध आपराधिक लाभ र ठगीको आरोप लगाउँदै टेकुमा जाहेरी दर्ता गराएकी थिइन् । यो मुद्दा हाल जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा मुल्तवीमा रहेको छ ।
२०८१ साल असोज २ गते सुनिता बस्नेतले रमा राणाविरुद्ध ठगीमा १९ लाख ९८ हजार रुपैयाँको दाबी गर्दै जाहेरी दर्ता गराइन् । प्रहरीले राणालाई यस मामिलामा फरार रहेको जनाएको छ ।
रमा राणाविरुद्ध बैंकिङ कसुर र ठगीका मुद्दाहरू निरन्तर दर्ता हुँदै आएका छन् । केही मुद्दामा उनी धरौटीमा रिहा भई अदालतमा उपस्थित भएकी छन् भने अन्य मुद्दाहरू अझै पनि अदालतमा विचाराधीन छन् । यस्ता मुद्दाहरूले आर्थिक अपराधमा उनको संलग्नतालाई उजागर गरेको छ ।
विकासध्वज र रमा राणाले मिडियासँग कुराकानी गर्न इन्कार गरेका छन् । १७ करोडभन्दा बढीको रकम, अदालतमा दावी गरिएको छ, कुन स्रोतबाट आयो भन्ने प्रश्नमा दुवैजना मौन रहे । विचाराधीन मुद्दाको बहाना गर्दै आफूमाथि लगाइएको आरोपबारे टिप्पणी गर्न अस्वीकार गरे ।
विकासध्वज राणाको प्रकरण ठगी र कीर्तेको ज्वलन्त उदाहरण हो । यो घटनाले कानुनी छिद्रको चरम दुरुपयोग, आर्थिक प्रलोभनमा आधिकारिक व्यक्ति, सामाजिक सम्बन्धको गलत प्रयोगमार्फत कसरी व्यक्तिले अनैतिक रूपमा सम्पत्तिमा दावी गर्न सक्छ भन्ने देखाएको छ । अब अदालत र सम्पत्ति शुद्धीकरणले यस विषयमा के निष्कर्ष निकाल्छन्, त्यो महत्वपूर्ण हुनेछ । यो घटना भविष्यमा यस्ता गतिविधिलाई रोक्नका लागि नजिर बन्न सक्नेछ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया