Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

शेखर कोइरालाको सुदूरपश्चिम भ्रमण : कांग्रेसभित्र विकल्प खोज्ने संकेत


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशमा आफ्नो राजनीतिक सक्रियता बढाउँदै कांग्रेसभित्र विकल्प बनेका छन् । शुक्रवार बुद्ध एयरको जहाजमार्फत कैलालीको धनगढी पुगेका कोइरालाको स्वागत शेरबहादुर देउवाको पकड क्षेत्र मानिएको यस ठाउँमा निकै उत्साहजनक देखिएको छ । कांग्रेसका पुराना नेताहरूले यो स्वागतले २०४८ सालतिर गिरिजा प्रसाद कोइरालालाई त्यस क्षेत्रमा गरिएको भव्य स्वागतको झल्को दिएको बताएका छन् ।

उनको भ्रमणमा हृदयराम थानी, डा. सुनील शर्मासहितका नेताहरु सामेल रहेका छन् ।

कोइरालाले सुदूरपश्चिमका ९ जिल्लाका कांग्रेस सभापतिहरूसँग भेटघाट गरेका छन् । कैलाली, कञ्चनपुर, डोटी, बैतडी, बझाङ, डडेल्धुरा, अछाम, दार्चुला र बाजुराका सभापतिहरूसँग छलफल गरेका छन् । शनिबार उनले भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूसँग सामूहिक भेटघाट गर्ने कार्यक्रम तय गरेका छन् ।

गगन थापा पहिला शेखर कोइरालाको क्याम्पमा भए पनि अहिले शेरबहादुर देउवाको नजिक पुगेका छन् । यो स्थितिमा शेखर कोइरालाको सुदूरपश्चिम भ्रमण र स्वागतले कांग्रेसभित्रको नेतृत्व विकल्पको बहसलाई थप बल दिएको छ । कोइरालाले २०७८ सालमा १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएर शेरबहादुर देउवासँग पराजय बेहोरेका थिए । हालै कोशी प्रदेश सम्मेलनमा सभापति देउवाले कोइरालालाई उपेक्षा गरेको भन्दै कोइरालाले देउवाको गृह प्रदेश सुदूरपश्चिम भ्रमणलाई ‘स्वतन्त्र सक्रियता’ को रूपमा अघि सारेको कांग्रेसका एक नेताले बताएका छन् ।

कोइरालाले २०८२ मंसिरभित्र १५ औं महाधिवेशन गरिनुपर्ने आवश्यकता औंल्याउँदै कांग्रेसभित्रको आन्तरिक व्यवस्थापनमा चासो व्यक्त गरेका छन् । उनले यसअघि कोशी प्रदेशभरका पालिका प्रमुखहरूलाई प्रशिक्षण दिएका थिए, जसलाई केन्द्रीय कार्यालयले नगर्न निर्देशन दिएको थियो । तर, ११३ पालिका प्रमुखको उपस्थिति देखेर कोइरालाको संगठनात्मक पहुँचलाई पुनः पुष्टि गरेको कांग्रेसवृत्तमा चर्चा छ।

सुदूरपश्चिममा कोइरालाको सक्रियता र स्वागतले कांग्रेसभित्र नेतृत्वका लागि नयाँ समीकरणको आधार तय गर्ने अनुमान गरिएको छ । देउवाको गृह क्षेत्रमै कोइरालालाई गरिएको भव्य स्वागतले कांग्रेसभित्रको शक्ति सन्तुलनमा परिवर्तन आउने संकेत देखाएको छ ।

कोइरालाको यस भ्रमण र भेटघाटले नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीति अझ रोचक मोडतर्फ उन्मुख भएको प्रस्ट देखिन्छ ।

 

 

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट