एनपीएलको फाइनल : सुदूरपश्चिमले जनकपुरलाई दियो एक सय ८५ रनको लक्ष्य
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई एक सय ८५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनायो ।
सुदूरपश्चिमका लागि सैफ जैबले सबैभन्दा धेरै ६९ रन बनाए । यस्तै विनोद भण्डारीले ४१ रन बनाए । जनकपुरका महोम्मद मोसिन र किशोर महतोले समान तीन विकेट लिए । यस्तै ललित राजवंशी र जेम्स निशमले समान एक विकेट लिए ।
सुदूरपश्चिम अङ्क तालिकामा शीर्ष र जनकपुर दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा आठ विकेटले हराएको थियो ।
एनपीएल विजेताले ट्रफीसहित एक करोड १० लाख तथा दोस्रो हुनेले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै तेस्रो टोली कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
उत्कृष्ट एक जना नेपाली खेलाडीले कार पाउनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलको आयोजना गरेको हो ।
गएको मंसिर १५ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा फाइनलमा पुगेका सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्स रहेका थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया