चिसोको बेला छालामा देखिने समस्याबाट कसरी जोगिने ?
काठमाडौं । चिसोसँगै छालामा समस्या आएर अस्पताल पुग्नेहरुको सङ्ख्या बढेको छ । जाडो बढेसँगै बहिरङ्ग सेवामा धेरैजसो छाला सुक्खा हुने, एलर्जी हुने, छाला खस्रो हुने, फुट्नेलगायत समस्या लिएर आउने गरेका वीर अस्पतालकी छाला तथा यौन रोग विशेषज्ञ प्राध्यापक डा. अनुपमा कार्कीले बताइन् ।
यस्तै जाडोका कारण छालामा रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या धेरै देखिने गरेको उनले बताइन् । जाडोमा सरसफाइको कमीले छालाको समस्या बढ्ने उहाँको भनाइ छ । जाडोमा लुतोको समस्या पनि उत्तिकै हुन्छ । प्रायः मान्छे जाडोमा कम नुहाउने, लुगा फेर्न अल्छी गर्ने, समय–समयमा सिरक, डसना घाममा नसुकाउने लगायतका कारण समस्या आउने गरेको उनले बताइन् ।
निजामती अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा। प्रज्जवल पुडासैनी जाडो मौसममा हावामा आद्रता कम हुने भएकाले छाला बढी सुक्खा हुने र यसैका कारण समस्या आउने बताउँछिन् । जाडोमा एलर्जीको समस्या पनि बढी देखिने उनको भनाइ छ ।
जाडोमा पर्याप्त पानी पिउने, फलफुल र हरियो तरकारी पर्याप्त खाने, व्यक्तिगत सरसफाईमा ख्याल गर्ने र सुख्खा छालामा नरिवलको तेल, जैतुनको तेल वा भ्यासलिन लगाउने गरेमा समस्या कम हुने डा. अनुपमा कार्कीले बताइन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
प्रतिक्रिया