राजनीतिक अस्थिरता र माओवादी धाराको पुनर्जीवनकाे चुनाैती
देशको राजनीतिमा प्रतिपक्षको प्रभावहीनता, माओवादी धाराको कमजोर अवस्थाले समाज पछाडि धकेलिएकाे छ । केही वर्ष अगाडिसम्म व्यवस्थित माओवादी आन्दोलन एजेन्डा र संगठनात्मक रूपमा कमजोर बन्दै गएको छ । याे कमजाेर बनेपछि लाेकरिझाइवादी शक्ति प्रभावकारी बनेका छन् । जसले समाजलाई पछाडि लैजाने खतरा बढेकाे छ ।
माओवादी धाराको कमजोर अवस्थाका कारण समाजमा लोकरिझाइवादी नेताहरूको प्रभाव बढेकाे हाे । रवि लामिछाने, बालेन साह र हर्क साम्पाङजस्ता व्यक्तिहरूले समाजमा लोकप्रियता पाउँदै गएका छन् । यस्ता नेताहरूको उदयले माओवादी आन्दोलनले बोक्ने परिवर्तनका मुद्दाहरूलाई चुनौती दिएकाे छ ।
यसै कारण अदालत लगायतका परम्परावादी संस्थाहरूले विगतमा स्थापित मुद्दा र अजेन्डाहरू उल्ट्याउन खोजिरहेका छन् । यो परिवर्तन समाजमा देखिएको राजनीतिक र वैचारिक शून्यताको संकेत हो ।
दुई ठूला दलको समर्थनमा बनेको दुई-तिहाइ नजिकको वर्तमान सरकार स्थिरताका दृष्टिकोणले महत्वपूर्ण मानिए पनि त्यसको भविष्यप्रति आशंका उब्जिरहेको छ । “अहिले ढल्छ, भरे ढल्छ” भन्ने चर्चाले राजनीतिक अस्थिरता र अविश्वासको स्थिति देखाउँछ । राजनीतिक स्थिरताका लागि वाचा गरेका दलहरू अहिले रक्षात्मक अवस्थामा छन् र यो अवस्था संसदीय प्रणालीको एक प्रकारको विडम्बना नै हाे ।
जनताले निर्वाचनलाई मात्र आधार बनाएर होइन, जनमुखी र राष्ट्रमुखी काम गर्न सक्ने बलियो शक्ति खोजिरहेका छन् । यो आवश्यकता वस्तुगत रूपमा स्थापित भइसकेको छ । तर, यस्तो शक्ति निर्माण गर्न दलहरू आफ्ना सीमित घेराबाट माथि उठ्नुपर्ने चुनौती छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य महेश्वर दाहालका अनुसार, जमिनबाट नै नयाँ एजेन्डाका आधारमा मोर्चा निर्माण गर्न सकिन्छ ।
सांस्कृतिक तथा राजनीतिककर्मी जीवन शर्माका अनुसार, कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्न सडक, सदन र सरकारमा श्रमिक वर्गको एजेन्डालाई हावी गराउनुपर्छ । शर्मा भन्छन्, “कम्युनिष्ट आचरण भनेको चिल्ला गाडी र महलमा रमाउने होइन; यो श्रमशील भुइँमान्छे र आधारभूत वर्गलाई अंगाल्न सक्नुपर्छ ।”
देश नयाँ मोडतिर गइरहेको छ । पछिल्लाे अवस्थामा परिवर्तनको एजेण्डा बाेकेर आएकाे माओवादी धाराको कमजोर अवस्थाले सामाजिक र राजनीतिक रूपान्तरण रक्षात्मक बनेकाे छ । नयाँ शक्तिको खोजी, लोकरिझाइवादी नेताहरूको उदय र श्रमिक वर्गको आवाजलाई प्राथमिकता दिने मागले राजनीतिक आन्दोलनलाई पुनःजागरणतर्फ डोर्याउने संकेत गरिरहेको छ ।
अबको चुनौती भनेको माओवादी समूहहरूकाे सीमा तोड्दै सबै ती भित्रका परिवर्तनकारीहरूले जनताका वास्तविक एजेन्डालाई अघि बढाउने हाे ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया