डा. सुनील शर्मा: डा. शेखर कोइरालाका कुशल सारथि
महाभारतको युद्धमा सारथिको भूमिका केवल रथ चलाउन सीमित थिएन । उनीहरू निर्णायक पात्र थिए । युद्धको मैदानमा सही मार्गदर्शन, मानसिक बल र उद्देश्यको स्पष्टता दिन सक्थे । श्रीकृष्णले अर्जुनका सारथि भएर युद्धको मैदानमा जसरी मार्गदर्शन गरे त्यसले जीवनका सबै क्षेत्रका लागि सार्थक प्रेरणा दिएको छ । नेपाली कांग्रेसका युवा नेता डा. सुनील शर्माले डा. शेखर कोइरालाका लागि कुशल सारथिको भूमिका निर्वाह गरिरहेको देखिन्छ ।
डा. शेखर कोइराला नेपाली कांग्रेसका एक अनुभवी र सम्मानित नेता हुन् । पार्टीभित्र उनीसँग सुरुमा धेरै प्रभावशाली नेताहरूको साथ थियो । गगन थापासहितका केही नेताहरू पछिल्ला समयहरूमा टाढिए पनि डा. सुनील शर्माले भने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गरिएको १२ बुँदे सहमतिदेखि डा. शेखरलाई निरन्तर साथ दिइरहेका छन् । सुनील शर्माको अडान, निष्ठा र नेतृत्व दक्षताले शेखर कोइरालाको राजनीतिक यात्रामा एउटा बलियो र भरपर्दो सहयोगीको छवि निर्माण गरेको छ ।
महाभारतका सारथिहरूले जस्तै सुनील शर्माले पनि शेखर कोइरालालाई सही दिशा दिन, राजनीतिक कठिनाइहरूबाट पार लगाउन र भविष्यका रणनीतिहरू तयार पार्न मद्दत गरिरहेका छन् । कोशी प्रदेशमा मुख्यमन्त्री चयनको क्रममा विद्रोहको स्थितिमा उनले सक्रिय भूमिका खेले । उनले असन्तुष्ट नेताहरूलाई शान्त राख्न र विवाद समाधान गर्न शेखरलाई साथ दिए । मंसिर १८ र १९ गते कोशी प्रदेशको बेलबारी, बिराटनगरको भेला गरेपछि सुदूरपश्चिम भ्रमणको तयारी र व्यवस्थापनमा पनि उनी अग्रपंक्तिमा रहे । यस भ्रमणले शेखर कोइरालालाई धरातल टेकिरहेका नेताहरुसँग सम्बन्ध सुधार्न र स्थानीय मुद्दाहरूमा ध्यान केन्द्रित गर्न सहयोग पुर्यायो ।
महाभारतका सारथिहरू केवल रथका चालक थिएनन्, उनीहरू बुद्धिमत्ता र दूरदृष्टिका प्रतीक थिए । अर्जुनलाई धर्मयुद्धमा समर्पित गराउन श्रीकृष्णले जसरी मार्गदर्शन गरे डा. सुनील शर्माले पनि डा. शेखर कोइरालालाई राजनीतिक मैदानमा थप बलियो बनाउन, टाढिएका सहकर्मीहरूको अभाव महसुस हुन नदिन र आन्तरिक विवादलाई शान्त पार्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
डा. सुनील शर्माको समर्पण र निष्ठाले एउटा असल सहायक कस्तो हुनुपर्छ भन्ने स्पष्ट गर्दछ । कठिन समयमा आफ्नो नेता र आदर्शप्रति अडिग रहनु उनको विशेषता हो ।
डा. सुनील शर्मा र डा. शेखर कोइरालाको सम्बन्धले महाभारतका सारथिहरू र योद्धाहरूबीचको सम्बन्ध स्मरण गराउँछ । सुनीलले आफ्नो ज्ञान, अनुभव र निष्ठाको माध्यमबाट शेखरलाई हरेक परिस्थितिमा साथ दिइरहेका छन् । महाभारतका सारथिहरूले जसरी युद्धको मैदानमा सही मार्गदर्शन दिएर विजय सम्भव बनाए, सुनील शर्माले पनि नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा डा. शेखर कोइरालाका लागि त्यस्तै सहयोगीको भूमिका निभाइरहेका छन् । यस्ता कुशल सहयोगीको साथले मात्र नेतृत्व सफलताको शिखरमा पुग्न सक्छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया