Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

सात बुँदे दुधौली घोषणापत्र जारी गर्दै सकियो एमाले सिन्धुलीको चौथो पूर्ण बैठक


सिन्धुली । नेकपा एमाले सिन्धुलीको चौथो पूर्ण कमिटीको बैठक दुधौलीमा सम्पन्न भएको छ । बैठकले सात बुँदे घोषणापत्र जारी गर्दै पार्टीका रणनीति, स्थानीय समस्याहरू समाधान गर्ने उपाय र भ्रामक प्रचारको प्रतिवादमा एकजुट हुने प्रतिबद्धता जनाउँदै बैठक समापन गरेको हो ।

बैठकले सिन्धुली जिल्लाका बिभिन्न विकास निर्माण, राजनीतिक गतिविधि र स्थानीय जनजीवनसँग सम्बन्धित सात बुँदे निर्णय गरेको छ ।

घोषणापत्रमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका विरुद्ध कपोलकल्पित, भ्रामक र अनर्गल प्रचारलाई परास्त गर्न सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । विशेषतः प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालका झूट, दुस्प्रचारका विरुद्ध डटेर प्रतिवाद गर्न बैठकले आग्रह गरेको छ ।

जिल्लाको प्रमुख नदी कमलासहित अन्य नदीहरूले बर्सेनि कटान गर्दै आएको खेतीयोग्य जमिनको समस्या समाधान गर्न कमला कोरिडोर परियोजना तत्काल अगाडि बढाउन बैठकले नेपाल सरकारलाई हार्दिक आग्रह गरेको छ ।

मरिण गाउँपालिका वडा नं ५ र ३ मा छ सय सात घरधुरीका स्थानीयहरूसँग पैसा उठाइएकोमा आपत्ति जनाउँदै जनताबाट उठाइएको पैसा तत्काल फिर्ता गर्न र दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

मरिण गाउँपालिकामा गाई मारेको आरोप लगाउँदै नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले जनतालाई दुःख दिएको भन्दै बैठकले खेद प्रकट गरेको छ । दोहोरो चरित्र नदेखाउन आग्रह गर्दै दोषीमाथि निष्पक्ष छानबिनको माग गरिएको छ ।

अविरल वर्षाका कारण भएको बाढीपहिरोले सिन्धुलीका विभिन्न पालिकामा पुर्‍याएको क्षतिप्रति बैठकले गहिरो संवेदना व्यक्त गरेको छ । बिपी राजमार्ग र अन्य सडक तथा संरचनाको तत्काल पुनर्निर्माण गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ ।

सिन्धुली जिल्लाको पर्यटन, कृषि र जुनार उत्पादनलाई प्राथमिकता दिँदै युवा र महिलामुखी कार्यक्रम ल्याउन सरकारले पहल गर्नुपर्ने बैठकले जोड दिएको छ ।

कमलामाई नगरपालिका वडा नं १३ स्थित सुनखानी मडाहा जोड्ने पुल निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै तत्काल निर्माण प्रक्रिया अगाडि बढाउन बैठकले आग्रह गरेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट